
काठमाडौँ । मनसुन बाहिरिएसँगै भित्रिएको पश्चिमी वायु पूर्व सरेको छ । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ ।
असोज ३१ गतेबाट उक्त प्रणाली सक्रिय हुँदै पश्चिम नेपालमा ठूलो जनधनको क्षति पुर्याएको वायु प्रणाली पूर्वतिर सरेको हो । बर्षासँगै आएको बाढी पहिरोले अहिलेसम्म १८ जनाको ज्यान गइसकेको छ भने २८ जना हराइरहेका छन् । किसानको धानबाली खेतबाटै बगाएको छ भने भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ ।
मौसमविद् समिर श्रेष्ठका अनुसार बुधबार रातिबाट भने कर्णाली र सुदूरपश्चिममा उक्त प्रणाली कमजोर भई पूर्वतर्फ सरेको छ । उनले प्रदेश १, २, बागमती र गण्डकीमा आज भारी वर्षाको सम्भावना रहेको बताए ।
भोलि बिहीबारबाट भने मौसममा सुधार आउने भए पनि पूर्ण सुक्खा नहुने हुँदा ठाउँठाउँमा पानी पर्ने सम्भावना कायमै रहेको उनले बताए । उनको अनुसार आगामी बिहीबारदेखि मौसममा सुधार हुँदै जाने छ ।
हाल देशको प्रदेश १, २, बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । ती प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।