
अछाम । जन्ती बोकर फर्किने क्रममा जिल्लामा भएको दुर्घटनाका घाइतेको उपचार भइरहेको छ । अछामको पंचदेवल विनायक नगरपालिका वडा नम्बर १ मा आइतबार राति भएको दुर्घटनामा परी ४ जनाको मृत्यु भएको थियो ।
दुलही पुर्याएर फर्किएका जन्ती बोकेको गाडी आइतबार राति ११ बजेतिर भएको दुर्घटनामा अन्य १४ जना घाइते भएका थिए । विनायकमै भएको विवाहको कार्यक्रम सकेर दुलही तर्फका जन्ती बोकेको से १ च १७६३ नम्बरको गाडी दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा पञ्चदेवल विनयाक २ का अन्दाजी १३ वर्षीय जीवन न्यौपाने, अन्दाजी १५ वर्षीय हिमाल नेपाली, अन्दाजी १८ वर्षीय सर्प बोहोरा र पञ्चदेवल विनयाक ३ का अन्दाजी १६ वर्षीय जीवन जैसी रहेका छन् ।
दुर्घटनामा परी ३ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मंगलसेन अस्पतालमा मृत्यु भएको हो ।
जीप चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अछाम प्रहरीका प्रमुख तुल्सीराम अर्यालले संचारकर्मीलाई जानकारी दिएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्थमा गम्भीर भएकाले आइतबार नै नेपालगन्ज रिफर गरिएको थियो । अन्यको जिल्लाका अस्पतालमाहरूमा उपचार भइरहेको छ ।
जीप ब्याक गर्ने क्रममा सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।