
काठमाडौँ । पहिलो मुख्यमन्त्री बनेर रेकर्ड कामय गरेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज विश्वासको मत लिँदैछन् । नेकपा एमाले विभाजनपछि संवैधानिक व्यवस्थाअनुसार शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिन लागेकी हुन् ।
आजैबाट शाक्यले मुख्यमन्त्रीबाट बिदा हुनेपर्ने भएको छ । एमाले विभाजनसँगै उनी अल्पमतमा परिसकेकी थिइन् । प्रदेशसभाका कुल १०९ सांसदमध्ये बहुमतको लागि शाक्यलाई ५५ सांसदको सर्मथन चाहिन्छ । तर, त्यो नपुग्ने पक्कापक्की छ । प्रदेशसभामा एमालेका ४३ सांसद छन् ।
योसँगै पहिलो महिला मुख्यमन्त्रीको हैसियतमा शाक्यले ५४ दिन सरकार चलाएर बिदा हुने भएकी छन् । एमाले विभाजनको मुखमा भदौ २ गते शाक्य मुख्यमन्त्री भएकी थिइन् ।
माधव कुमार नेपाललाई एमाले फुटाउन सहयोग गर्ने उनीलाई मुख्यमन्त्री बनाइएको थियो । लामो समयदेखि नेपालसँगै रहेका नेताहरु अन्तिममा विभाजन विपक्षमा उभिएका थिए । आफूहरुले साथ नदिएपछि नेपालले एमाले विभाजन गर्न नसक्ने भन्दै अनुमान गर्दै शाक्यसहितका नेताहरु विपक्षमा उभिएका थिए । तर, नेपालले तेस्रो तहका नेताहरुलाई साथ लिएर नेकपा (एकीकृत समाजवादी) नामको पार्टी बनाए ।
निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल बदलको समय दिएको थियो । त्यो बेला पनि सबै प्रदेशसभाका १३ सांसद नेपालतिर लागे । योसँगै एमालेको एकल बहुमतमा परहेका बागमती र प्रदेश नम्बर १ को सरकार पनि अल्पमतमा पर्यो ।
संविधानको धारा १८८ को उपधारा (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।
यही व्यवस्थाअनुसार दुबै प्रदेशमा आजबाट प्रदेशसभाको हिउँदे अधिवेशन बोलाइएको छ । प्रदेशसभामा आज विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुन्छ । दशैंपछि मात्रै मतदान हुनेछ । दशैं विदाका कारण संसद अधिवेशन बन्द हुने भएको छ ।
बागमती प्रदेशमा विपक्षी गठबन्धनले सरकार बनाउने भएको छ । प्रदेशसभामा माओवादी केन्द्रका २३, कांग्रेस २२ र एकीकृत समाजवादीका १३ सांसद छन् । केन्द्रमा गठबन्धनमा रहेका यी तीन पार्टीकै प्रदेशमा बहुमत पुग्छ । उनीहरुको प्रदेशसभामा ५८ मत छ भने नेमकिपा दुई, राप्रपा दुई, विवेकशील साझा तीन र स्वतन्त्र एक सांसद छन् । साना र स्वतन्त्र सांसदले शाक्यलाई मत लिएपनि ५१ मत मात्रै पुग्छ । प्रदेशसभाको यो अंक गणितले पनि शाक्य सरकारबाट हट्ने निश्चित छ ।