
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् । विहीबार सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयमा भागबण्डा मिलेपछि झण्डै तीन महिनामा मन्त्रिमण्डलले पूर्णता पाउन लागेको हो ।
सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । चार मन्त्रालय पाएको एकीमृत समाजवादीले स्वास्थ्य, पर्यटन, शहरी विकास मन्त्रालय पाएको छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले मन्त्रीको अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्ष माधव कुमार नेपाललाई दिइएको थियो । अध्यक्ष नेपालले महासचिव बेदुराम भुसालसहितका केन्द्रीय सचिवालयका नेताहरुसँगको छलफलपछिचारै मन्त्रीको नाम टुंग्याएका छन् ।
एकीकृत समाजवादीका एक नेताका अनुसार विरोध खतिवडाले सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् भने रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या, प्रेम आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, किसान श्रेष्ठले श्रम मन्त्रालय समाल्ने भएका छन् । त्यस्तै, एसबाट भवानी खापुङ राज्यमन्त्री हुँदैछन् ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्रीको नाम टुंगो लागिसकेको र अहिले विहान सचिवालय बैठक बसेर औपचारिक निर्णय गर्ने बताएका छन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।
त्यस्तै, ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ ।