
काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने तयारी गरेका छन् । आज (बुधबार) सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रावधान अनुसार राउतले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्।
संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ।
सरकारले दलसम्बन्धी नयाँ अध्यादेश ल्याएसँगै जसपाबाट महन्थ ठाकुर समूहले भदौ ९ गते लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेको थियो । भदौ २२ लाई पार्टी विभाजन भएको अन्तिम मिति मानेर मुख्यमन्त्री राउतले विश्वासको मत लिन लिँदैछन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न समय दिएको थियो ।
प्रदेश २ मा जसपा ३८, नेपाली काँग्रेसको १९ र नेकपा माओवादी केन्द्रको ८ सांसद सहित गठबन्धनको सरकार रहेको छ। १३ जना सांसद रहेको नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई समर्थन गरेको छ। रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी नेपालको १ र स्वतन्त्र १ सांसदको समेत राउतलाई समर्थन छ।
प्रदेशसभामा प्रमुख प्रतिपक्षीको रहेका महन्थ ठाकुर नेतृत्वको लोसपाले मुख्यमन्त्री राउतको राजिनामा माग्दै आएको छ । लोसपालाई नेकपा एमालेले साथ दिएको छ ।
केन्द्रमा बनेकाे सत्ता गठबन्धन प्रदेशमा रहेकाले राउतले विश्वासकाे मत पाउने निश्चित जस्तै छ ।