
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को लागि अधिकरण गरिएको जग्गा नियन्त्रणमा लिएको छ । विप्वल नेतृत्वको नेकपा नुवाकोटले एमसीसीको प्रसारण लाइन सवस्टेशनका लागि ३८४ रोपनी जग्गामा झण्डा गाडेको छ ।
नुवाकोट जिल्ला बेल्लकोटगढी नगरपालिका वडा नम्बर ७ रातामाटेमा प्रसारण लाइन सवस्टेशनको लागि अधिकरण उक्त जग्गामा नेकपाका कार्यकर्ताहले मंगलबार पार्टीको ब्यानरसहित झण्डा गाडेर नियन्त्रणमा लिएको घोषणा गरेका छन् ।
एमसीसीविरुद्ध नारा लगाउँदै स्थानीय जनतासहित नेकपा नुवाकोटले झण्डा गाड्नुको साथै विज्ञप्ति पनि सो स्थानमा छोडेको छ । जग्गा नियन्त्रणमा लिएको घोषणापछि नेकपाले कोणसभाको पनि आयोजना गरेको थियो । सो सभामा नेकपाका नेताहरुले जग्गा जनतालाई पूर्ण रुपमा उपभोग गर्न र एमसीसीलाई कुनै पनि हालतमा नदिने बताएका छन् ।
सो जग्गामा एमसीसीका कुनै पनि कर्मचारी आएमा लखेट्ने समेत नेकपाले चेतावनी दिएको छ ।
जनतालाई आफ्नो जग्गा उपभोग गर्नबाट बन्चित गर्न खोजिए राष्ट्रघाती एमसीसीका दलाल एजेण्डहरुलाई त्यहि धर्तिमा गाड्ने चेतावनी समेत दिएको छ । उक्त विरोध सभा तथा जग्गा कब्जा कार्यक्रममा स्थानीयबासी र नेकपाका नेता कार्यकर्ता गरि सयौंको उपस्थिति रहेको थियो ।