
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था (MLBS) को शेयर नेप्सेमा सूचीकत भएको चौथो कारोबार दिनसम्म पनि खरिदबिक्री भएको छैन। उक्त कम्पनीको शेयर गत असोज १० गते (आइतवार) नेप्सेमा सूचीकृत भएको थियो ।
नयाँ सूचीकृत कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि पहिले स्पेशल प्रि ओपन सेसनमा कारोबार हुनुपर्ने हुन्छ, त्यसपछि मात्र नियमित सेसनमा कारोबार हुने गर्दछ । तर यस कम्पनीको शेयर स्पेशल प्रि ओपन सेसनमै कारोबार हुन नसकेपछि आजसम्म पनि कारोबार हुन सकेको छैन।
कम्पनीको शेयर मंगलवार मात्र डिम्याट खातामा आएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १३२ रुपैयाँ ६९ पैसा देखि अधिकतम ३९८ रुपैयाँ ०७ पैसा ओपनिङ्ग रेन्ज तोकेको थियो।
कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो । जसमध्ये ३ लाख ९३ हजार ७५० कित्ता सर्वसाधारणको लागि र संस्थापकतर्फको ७ लाख कित्ता रहेको थियो ।