
काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । यसअघि पटक पटक पेशी तोकिँदा पनि सुनुवाई सर्दै आएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाले सापकोटाविरुद्धको मुद्धाको सुनुवाई गर्दैछन् ।
यसअघि १६ भदौमा पेशीमा चढेको थियो । तर, हेर्न नभ्याइनेमा परेको थियो । त्यस एक वर्षअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो । त्यतिबेला पनि हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।
सापकोटामाथि तत्कालिन जनयुद्धको बेला काभ्रेका अर्जुन लामाको ह त्यामा संलग्न भएको आरोप छ । उनीविरुद्ध किटानी जाहेरी परेको थियो ।
जनयुद्धको बेला २०६२ बैशाख १६ गते श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता लामाको ह.त्या भएको भन्दै पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।
पूर्णिमायाले जाहेर प्रहरीले नलिएपछि सर्वोच्चमा उजुरी गरेकी थिइन् । २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।
त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गइन् र सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।
नेकपा (माओवादी केन्द्र)ले सापकोटा उक्त घटनामा संलग्न नभएको तर राजनीतिक पूर्वाग्रहका कारण मुद्धा दायर गरिएको दाबी गर्दै आएको छ ।
यदि मुद्धामा सपकोटालाई दोषी ठहर गरिए सभामुख पद जाने मात्रै होइन, सजाय समेत भोग्नु पर्नेछ ।