
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तारको अन्तिम तयारीमा जुटेको बेला नेपाल हेर्ने भारतीय अधिकारी काठमाडौँ आइपुगेका छन् । भारतीय विदेश मन्त्रालयको नेपाल र भुटानसहित ‘नर्थन डिभिजन’ हेर्ने जिम्मेवारी पाएका अनुराग श्रीवास्तव तीनदिने नेपाल भ्रमणमा मंगलबार काठमाडौं पुगेका हुन् ।
सरकारी समितिले चीनले हुम्लामा सीमा मिचेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको हप्ता नबित्दै नेपाल आएका श्रीवास्तवले कार्यवहाक परराष्ट्र सचिव प्रकाश सुवेदी, अर्थसचिव मधुकुमार मरासिनी र उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईलगायतसँग औपचारिक रुपमा भेट्नेछन् भने अनौपचारिक रुपमा विभिन्न राजनीतिक पार्टीका नेता र सूत्रसँग भेटवार्ता गर्ने बताइएको छ ।
नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र भारतका विदेशमन्त्री एस. जयशंकरबीच जारी संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भेटवार्ता भएको थियो । त्यसलगतै विदेश मन्त्रालयबाट नेपालमा एक कुटनीतिक आएका हुन् । श्रीवास्तवको भ्रमणको बारेमा नखुलाए पनि उनले दुई मुलुकबीच अर्थ, व्यापार र सम्बन्धको बारेमा छलफल गर्ने बताइएको छ ।
नेपाल र भारतबीचमा पछिल्लो समय सुमधुर सम्बन्ध छैन । सुरुवातमा भारतले नेपालको कालापानी क्षेत्रलाईसमेत समेटेर नक्सा निकालेको थियो । त्यसपछि नेपालले पनि नयाँ ‘चुच्चे नक्सा’ जारी गरेपछि दुई मुलुकबीच सम्बन्धमा खटपट भएको थियो । त्यसलाई देउवा सरकारले सुधार गर्ने प्रयास गरेको छ । तर, भारत सामु देउवा सरकार झुकेको आरोप पनि लाग्दै आएको छ । तुइन प्रकरण र नेपाली आकाशमा हेलिकोप्टर उडाएको विषयलाई सरकारले भारतको जवाफ आउने गरी सोध्ने हिम्मत समेत नगरेको गुनासो सामाजिक संजाल र संचारमाध्यममा पोखिरहेको बेला श्रीवास्तव नेपाल आएका छन् ।
देउवाले सरकार सम्हालेपछि पनि नेपालले भारतलाई गत भदौमा तीन दिनको अन्तरालमा दुई पटक कुटनीतिक नोट पठाइसकेको छ । तर, भारतले भने जवाफ पठाएको छैन ।
दार्चुलामा साउन १५ गते दुई भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नतामा नेपाली युवा जयसिंह धामीलाई महाकाली नदीमा तुइन तर्ने क्रममा खसालेर मृत्यु भएको प्रतिवेदनसहित नेपाल सरकारले भारत सरकारलाई भदौ १८ गते कुटनीतिक नोट लेखेको थियो । उक्त नोटमा घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्ने र पीडितलाई उचित क्षतिपूर्ति समेत उपलब्ध गराउन भनेको थियो ।
सरकारले भदौ २० गते सुदूरपश्चिम क्षेत्रको नेपाली आकाशमा हेलिकोप्टर उडाएको सम्बन्धमा पनि भारतलाई कुटनीतिक नोट पठाएको थियो । त्यसको पनि जवाफ भारतले दिएको छैन ।
देउवा सरकारमा आएपछि पहिलो पटक भारतीय सरकारी संयन्त्रबाट श्रीवास्तवको नेपाल भ्रमण भएको हो । यसलाई महत्वपूर्ण मानिएको छ ।