आज :

बुलबुलेको विश्राम

  • अनलाइन डबली

बसन्ती शाही, प्रदेश लोक सेवा आयोग सदस्य, सुर्खेत

दिनको दोपहर पछिको यात्रा चलिरहेको थियो । दिनभरीको निरन्तर कुदाईले गाडीको ईन्जीन तातिएको संकेत गर्दै बुलबुलेमा चालकले गाडी रोके । हाम्रो गन्तब्य रारासम्मको थियो । सकेसम्म आजै गन्तब्य (रारा) सम्म पुग्ने ईराधा हामीले बनाएका थियौं । मनसुनको समय भएकोले भन्न सकिन्नथ्यो । बाटो कच्ची अनी हिलाम्मे थियो । यात्राका दिनहरु मध्ये आज भने अलिअलि घाम देखिएको थियो, तैपनि साँझमा पानी पर्ने निश्चित जस्तो । जंगल शुरुहुन लागेकाले झ्याउकिरीले गीत गाउन शुरु गरी सकेका थिए । धुपी र गोब्रे सल्लाको घना जंगललाई छिचोल्दै बाटो निस्किदै थियो । बाटो दायाँबायाँका दृष्यहरु देखेर फोटो खिचौं कि भिडियो भन्ने कौतुहलता त मनमा छ नै ।

नाग्मबाट माथि लागे पछि सिंजा भ्यालीको रमणिय दृष्यले मनै पुलकित बनाई सकेको थियो । पसाउँदै गरेका हरिया मार्सिधानका फाँटहरु, हिमानदिको दायाँबायाँ लटरम्मै फलेका स्याउका बगैंचाहरु, भ्यालीको मध्येभागमा सुसाउँदै बग्ने हिमानदि, दायाँबायाँ मिलेका झुरुप्प झुरुप्प बस्तीहरु । त्यसैमाथी रारालाई भेट्न पाउने भने पछि झन कति मन आत्तिएको थियो होला, लामो समयको प्रतिक्षा पछि विछडिएका प्राणीहरु भेट्न खोजे जस्तै गरी । त्यसको त कल्पना गर्न पनि सकिंदैन । आधा घण्टा गाडीलाई आराम गराउनु पर्ने गुरुजीको आदेशानुसार हामी गाडीबाट ओर्लियौं ।

गाडि रोकिएको ठाँउलाई बुलबुले भनिने रहेछ । रारालाई भेट्न पाउने ब्यग्र तिष्णाले मन जति नै चङ्गा भए पनि गाडिको धकधक्याईले गर्दा ज्यान थिलथिलो भइसकेको थियो । ज्यानलाई एकछिन आरामको खाँचो पनि थियो नै । कच्ची बाटोमा हल्लीएको ज्यान भुईंमा झर्दा पनि हल्ली नै रहेको महसुस हुने । चिया खाएर बस्नुपर्ला भन्ने उद्देश्यले दायाँबायाँ हरे । सानासाना टिनले बारेका कटेराहरुमा चिया खाना, खाजा खान पाईने स्थानीयका होटलहरु थुप्रै रहेछन् बुलबुलेमा । उसै परे बास पनि पाईंदोरहेछ । सानो सानो विसौंनीको बजार बुलबुले । चिसो र स्वच्छ हावा चल्ने । एक तमासले झ्याँउकिरी कराई नै रहेका थिए ।

अंगालो भरी चिरेका दाउरा बोकेर एक जना किशोरी हामीलाई हेरीरहेकी थिईन् । मेरो पाईला उनी तिरै लम्कियो । उनले चपक्क तेल हालेर कपाललाई डोरीसंगै बाँटेकी थिईन् । लामो कपाल उनको कम्मर मूनीसम्म लर्किएको थियो । गुजमैलो घरबुनाको फरिया लगाएकी, कालो रंगको चौबन्दि चोली र ढाडमा सेतो पटुका बाँधेकी थिईन् । गलामा पँहेलो पोतेको झुप्पामा अझै खुलेकी थिईन् । नाकमा बुलाकी भने थिएन । कानमा बटारेका रिङ लगाएकी थिईन् । पहिला जस्तो गलामा पोतेसंग सुकाको माला पनि थिएन कालो घुम्टो पनि ओढेकी थिईनन् । मैले उनलाई चिया खुवाउन अनुरोध गरें । उनले सहर्ष स्वीकारिन् । र आफ्नो घर भित्र छिरिन् । म पनि उनी सितै भित्र छिरें । सल्लाको दाउराको धुँवाले उनको घर कालै भएको थियो । तै पनि त्यो कोठाको विचमा टिनको खाना बनाउने आधुनिक चुल्हो राखेको रहेछ । तर धुवाँ भने सबै बाहिर घरभित्रै ।

उनले आफुले बोकेको दाउरा चुल्होको नजिकै राखिन् र हातमा चिम्टा समातेर चुल्हो भित्र आगो खोतलिन् । आगो रहेछ । आगोको फिल्कालाई एकसाथ पारेर फुकिन् । आगो सल्कियो । कालो कितलीमा चियाको लागि पानी बसालिन् । र मलाई हेर्दै सोधिन् । कति कप बनाउन्या हो चिया ? मैले भने कुन चिया खुवाउँछौ ? देशी चिया खान्या की जडिबुटी चिया खान्या ? उनले प्रतिप्रश्न गरीन् । मैले साधें, जडिबुटीमा के के हो ? उत्तरमा उनले गन्धाईनु, घोडामर्चा र बाजणी भनिन् । मैले भनें, भैंसीको दुध छ ? नाईं सकियो त्यो त । यो सुने पछि मैले सात कप जडिबुटी चिया बनाउने सल्लाह दिंए ।

उनी आफ्नो काममा ब्यस्त भईन् । तर मैले भने उनको काम गरेको तरिका र उनलाई नियाली रहें । उनी बेलाबेलामा आगो फुक्ने ढुङ्ग्रो समातेर आगो फुक्दै गर्थिन् । मलाई पनि पुलुक्क हेर्थिन् । धुँवाले होला, उनको आँखामा आँसु छचल्किएका थिए । अलि राता पनि भएका । हात गोडा सबै तिर फुटेका थिए । सायद चिसोले होला । मैले सोधें, बहिनी तिम्रो नाम के हो, भन्न मिल्छ ? उनले हास्दै भनिन्, जसकला । कोईकाई जसु पनि भुन्छन् । पहिले पहिले यतातिरका महिलाहरु पोतेको माथि सुकाको माला पनि लाउने गर्थे । मैले बत्तिस बर्ष अगाडि यहाँ आँउदा देखेकी थिंए । कालोपाखीको घुम्टो पनि लगाउँथे तर यतिबेला उनको गलामा नदेखे पछि मैले सोधे । जसकला तिमिले सुकाको माला किन न लगाएको आज ? उनले भनिन्, त्यस्ता माला लगाउन्या चलन त गया अब । अब त कोई पनि लाउदैनन् । कहिलेकाहीं रामरमिता भया पछि मात्त लगाउँछन् । हो र ? किन नलगाएको ? मैले फेरि सोधें । खोई ? भनेर उनी रोकिईन् ।

मैले उनको हाउभाउबाट बुझें कि उनी मसंग त्यति बोल्न चाहिनन् । मेरो मथिङ्गलमा भने धेरै प्रश्नहरु एकै साथ उदाएका थिए । तै पनि मैले फेरि जसकलालाई सोधें, जुम्लाबाट चौथा, घुच्ची हुँदै आउँदा बाटोमा पर्ने बुलबुले भन्ने ठाँउ यहि हो ? हो यही हो, उनले छोटो उत्तर दिईन् । म पहिलो चोटी जुम्लाबाट होस्टेलको साथीहरुसंग रारा शैक्षिक भ्रमणको लागि भनेर पैदल यहाँ आएकी थिए । त्यही बुलबुले भन्ने जाने पछि मेरो चेतन शक्ति बाल्याबस्थामा फर्कियो । त्यति बेला म जम्मा तेह्र बर्षकी थिए । यहाँका (मुगु जिल्ला) धेरै जना साथीहरु पनि हामीसंग थिए । एक जना मुगु जिल्ला कै बढुवाल भन्ने दाई हामीसंग हुनुहुन्थ्यो । उहाँ खत्याडतिरको हो क्यारे । उहाँसंग हुन्छ हुदैन भन्ने बाजी (खेल) खेल्दै आाधा घण्टा पर बाटै यहाँ आईपुगेकी थिए । मैले हुदैन भन्ने रोकिए भने उहाँले जित्ने र उहाँले हुन्छ भन्ने रोकिनुभयो भने मैले बाजी जित्ने थियौं । साथीहरुले वीचमा हामीलाई रोक्ने कोशिष पनि नगरेका होईनन् । तर म कति जिध्धी थिंए सानै देखि । मैले खेल जिल्नै पथ्र्यो । त्यसैले कुनै हालतमा पनि म बोल्न रोकिईन ।

धेरै लामो समय भयो यति बेला उहाँ कता के गर्दै हुनुहुन्छ, मलाई केही थाह छैन तर उहाँ लगायत त्यति बेला यहाँ शैक्षिक भ्रमणमा आएका साथीहरुको जमातको निक्कै याद आयो । मुगु कै साथी मालती र जयपुरा खडका पनि थिईन् । दिदी असौजी, साथी तारा र माया, मितिनी कालिका (कालिकोट) पनि हामीसंगै थिए । अहिले सबैजना सम्पर्क विहिन छौं । मलाई तिं सबै साथीहरुको याद बुलबुलेले दिलायो । महर्जन सर (अहिले त्रिभूवन विश्वविद्यालयमा) र होस्टेल चौकिदार नरेन्द्र दाई पनि हामीसंगै आएका थियौं । त्यो दिन झ्यारी गाँउमा बास बसेका थियौं । जम्मा ४१ जनाको समुहमा ठूलो तामाको खड्कुलो मागेर घरको थाडामा (छानामाथी) बेलुकाको खाना पकाएर खाएका थियौं । साँझमा चिठ्ठा थुतेर अभिनय गर्ने खेल खेल्दै रमाईलो पनि गर्दै त्यो दिन झ्यारी मै बास बसेका थियौं । कस्तो मानिसको चोला पनि !!! दिन हप्ता महिना र बर्ष गर्दै दिन बितेको पत्तो नै नपाईने रहेछ । अहिले को कहाँ छ र के गर्दै छ ? कस्ता भए होलान् ? जो जहाँ भए पनि सबैलाई सह्रदयबाट सम्झना गरें बुलबुलेमा ।

हाम्रो जडिबुटी वाला चिया पनि तयार भयो । हामीले खाँयौं । कसैलाई मन पर्यो भने कसैलाई त्यसको स्वाद मन परेन । सायद पहिलो चोटी खानेलाई मन नपरेको हुन सक्छ । आखिर जे भए पनि यसले सरीरकोलागि फाईदै गर्छ, कुनै हानी नोक्सानी गर्दैन । प्रति कप वीस रुपीयाँका दरले चियाको पैसा तिर्यौं मोटरलाई पनि आराम पुगीसकेको थियो र हामी आफ्नो गन्तब्यकोलागि अगाडि जान तयार भयौं ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal