
काठमाडौँ । एमसीसी खारेज राष्ट्रिय अभियान नेपालले एमसीसीको विरोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन भएको छ । सरोकारवालाहरुले एमसीसी नेपालको लागि राष्ट्रघाती भएको भन्दै खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
प्रहरीले काठमाडौँ महाराजगंजस्थित दूतावास अगाडिबाट १० प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । निषेधित क्षेतमा प्रदर्शन गरेकोले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेपछि एमसीसीको फेरि बहस चर्केको छ । पार्टीभित्रैको तत्कालिन (नेकपा)मा नेताहरु एमसीसी विरुद्धमा उभिएपछि केपी शर्मा ओलीले सदनबाट पारित गराउन सकेका थिएनन् । ओलीले जस्ताको त्यस्तै एमसीसी पारित गराउन चाहेका कारण प्रचण्डसहितका नेताहरुले असहमति जनाएका थिए ।
अगाडि बढाउने वातावरण बनाउन एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने तयारीमा छन् । सुमर नेपाल आउने पूर्वसन्ध्यामा एमसीसीको विरोधमा सडकमा विरोध प्रदर्शन बढेको छ । सुमरसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आउन लागेको बताइएको छ ।
केही एपी वन टिभीले एमसीसीको पक्षमा विज्ञापन सामाग्री प्रसारण गरेपछि चौतर्फी विरोध भएको थियो । विरोधलाई थेग्न नसकेर एपी वनले उक्त विज्ञापन समाग्री प्रसारण नगर्ने सार्वजनिक रुपमै बताइसकेको छ ।