
काठमाडौं । नेकपा एमालेका बागमती प्रदेशबाट १२ र सुदूरपश्चिम प्रदेशबाट नेकपा (एकीकृत समाजवादी) तिर लागेका छन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न समय दिएको थियो ।
एमालेको तर्फबाट प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि मंगलबारबाट रोज्ने क्रममा मंगलबार बागमती प्रदेशबाट १२ र सुदूरपश्चिम प्रदेशबाट १० जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
बागमती प्रदेशका सांसदहरुले मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेको एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बताए । उनले २३ गते आयोगले हाम्रो दलमा सांसद संख्या दिने र आफूहरुले प्रदेशसभामा पेश गर्ने जानकारी दिए ।
नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर त्यही दिन एमाले फुटेर नेकपा समाजवादी एकीकृत दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको थियो ।
एकीकृत समाजवादीतिर लागेका सांसदहरुमा राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रमा आले मगर, बसन्त मानन्धर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, माधव पौडेल, कृष्ण खनाल रहेका छन् ।
त्यसैगरी आजै सुदूरपश्चिम प्रदेशसभामा पनि नेकपा एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । तीन जनाको भने कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन ।
एकीकृत समाजवादी प्रदेशसभामा सदस्यहरुमा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी, मना साउद, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, लालबहादुर खड्का र चुनकुमारी चौधरी छन् । त्यस्तै, एकीकृत समाजवादी रोजेका दीर्घ सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन नसकेको बताइएको छ ।