
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ ले अहिलेको राजनीतिक सङ्कटको निकास दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको बताएका छन् ।
आफ्नो पार्टीका महासचिव विप्लवसहितको टिमले मुलुकका सबै संसदवादी पार्टीहरूका नेतृत्वसँगको भेटघाटमा कसैले पनि वैज्ञानिक समाजवादको विरोध नगरेको र विकल्प पनि दिन नसकेको बास्तोलाले बताए । “सबै पार्टीका नेताहरू संसदीय व्यवस्थाबाट असन्तुष्ट छन् तर उनीहरू विकल्प दिन पनि नसक्ने अवस्थामा छन्” बास्तोलाले भने ।
नेकपा सुर्खेतको जिल्ला स्तरिय प्रशिक्ष कार्यक्रमलाई सम्बोधन गर्दै बास्तोलाले आफ्नो पार्टीेले बृहत् कम्युनिस्ट एकताको अभियान सञ्चालन गर्ने पनि बताए । उनले वैज्ञानिक समाजवादका लागि प्रगतिशील संयुक्त सरकार गठन र जनमतसङ्ग्रहमा जाने सहमति गर्ने सबै कम्युनिस्टसँग एकता हुने बताए । बास्तोलाले सबै जनताको सुरक्षित आवास, निःशूल्क स्वास्थ्य, शिक्षा, रोजगारको सुनिश्चितता भएको वैज्ञानिक समाजवाद आफ्नो पार्टीले खोजेको पनि बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा हालै जेलबाट छुटेका नेता भरत बम ‘रणवीर’ लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानपछि नेता रणवीरले मन्तव्य राख्दै जेलभित्रको अनुभूति समेत सुनाएका थिए । नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेका जनमुखि कार्यक्रमबाट अत्तालियर नै प्रतिबन्ध लाउन बाध्य भएको बताए । प्रतिबन्धको सबै ठाउँ सबै मोर्चाबाट सशक्त प्रतिरोध भएकै कारण सरकार प्रतिबन्ध लाउन बाध्य भएको बताए ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एटम बिसीले पार्टीले हालै सञ्चालन गरेको अभियानले सरकारी संयन्त्रका सबै निकाय अत्तालिएको बताए । उनले जनजिविकाको आन्दोलन अब जनताको घरबस्ती सबैतिर लैजाने तयारी भइरहेको जानकारी दिए ।
कार्यक्रमको अध्यक्षता नेकपा सुर्खेत जिल्ला सचिव धुर्बले गरेका थिए भने सञ्चालन नेकपा सुर्खेत पूर्वसचिव तथा वर्तमान विरेन्द्रनगर नगरकमिटि इन्चार्ज यमराज खडकाले गरेका थिए ।
जिल्ला पार्टीको आयोजना गरेको राजनीतिक प्रशिक्षणमा जिल्लाका २ सयभन्दा बढी अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।