
काठमाडौँ । लुम्बिनी प्रदेशमा नेकपा (एमाले)का नेता शंकर पोखरेल मुख्यमन्त्रीबाट हट्ने निश्चित भएको छ । प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेसँगै पोखरेल मुख्यमन्त्रीबाट बर्खास्त हुने निश्चित भएको हो ।
मुख्यमन्त्री पोखरेल प्रदेशसभामा अल्पमतमा भएपनि प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन बोलाएका थिएनन् । तर, संघमा एमाले सरकार ढलेसँगै सरकारले लुम्बिनी प्रदेशमा पनि नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो । नयाँ प्रदेश प्रमुखलाई विपक्षी गठबन्धनले बहुमतसहितको निवेदन पेश गरेर सरकार परिवर्तनको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए ।
विहीबार प्रदेश प्रमुख शेरचनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको संसद सचिवालयले सूचना सार्वजनिक गरेर जानकारी गराएको छ ।
प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको सूचना प्रकाशित गरेका छन् ।