News Portal

  • वडाध्यक्ष खनालले मदिरा सेवन गरी महिलामाथि अभद्र व्यवहार गरेपछि प्रहरीको फन्दामा

    डबली संवाददाता२०७८ असार १७ गते
    २२५ पटक

    अछाम । जनताको सेवा गर्ने भनेर निर्वाचित जनप्रतिनिधिहरु अराज र अनैतिक कार्यमा संलग्न भएका समाचार नयाँ भएनन् । जनताले मत दिएर जिताएका जनप्रतिनिधि जनताको सेवा गर्नु छोडेर उश्रंखल कार्यमा सहभागी हुँदै आएका छन् ।

    त्यस्तै भएको छ अछामको पञ्चदेवल विनायक नगरपालिकामा पनि । नगरपालिकाको वडा नं. ८ का अध्यक्ष तारा प्रसाद खनालले मदिरा सेवन गरी एक महिलामाथि अभद्र व्यवहार गरेका छन् ।

    नेपाली काँग्रेसका स्थानीय नेता समेत रहेका खनालले मदिरा सेवन गरी महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

    नगरपालिकाको केन्द्र रहेका विनायक बजारस्थित एक होटेलमा वडा अध्यक्ष खनालले राति सेवन गरी होटेलका सञ्चालकमाथि हातपात गर्नुको साथै महिलामाथि अभद्र व्यवहार गरेको आरोप लागेको छ । सोही आरोपमा प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा मंगलसेन लगेको छ ।

    महाधिवेशन प्रतिनिधिलाई लिएर काँग्रेसका दुबै पक्षबीच विवाद चलिरहेको अवस्थामा खनालले उक्त घटना काँग्रेस नेताहरुले नै सार्वजनिक गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बोहराका अनुसार वडा अध्यक्ष खनालले मदिरा सेवन गरि अभद्र व्यवहार गरेको गुनासोका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    खनाललाई नियन्त्रणमै राखेर थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ । वडाध्यक्ष खनालले जनताको सेवा भन्दा पनि डोजर व्यवसायको लागि वडाभित्र जथाभावि बजेट दुरुपयोग गर्दै आएको स्थानीयले आरोप लगाउँदै आएका थिए । खनालले सडक भएको स्थानमा बजेट हालेर अनियमितता गर्दै आएको स्थानीयबासीको आरोप छ ।

    प्रतिकृया दिनुहोस्