काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गरेका छन् । ओलीले मौन अवधिमा बक्तव्य जारी गर्दै पार्टीका उम्मेदवारविरुद्ध मतदान गर्नेलाई छुट नदिने चेतावनी समेत दिएका छन् ।
भोलि वागमतीमा राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ । चुनाव हुने अघिल्लो दिन अध्यक्ष ओलीले पार्टीभित्र नै विवाद रहेको स्वीकार गर्दै यस्तो अपील गरेका हुन् । उनले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गएर मतदान गरे पार्टीको लागि स्वीकार्य वा क्षम्य नहुने चेतावनी विज्ञप्तिमा दिएा छन् ।
अध्यक्ष ओलीले पार्टीभित्र देखापरेका समस्या समाधान गरी एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत सुरु भैसकेको बताउँदै पार्टीको आधिकारिक उमेदवारविरुद्ध उम्मेदवारी दिनु लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा कल्पना बाहिरको कुरा बताएको बताएका छन् ।
ओलीले मौन अवधिमा बक्ताव्य जारी गरेको केही समयपछि निर्वाचन आयोगले आचारसंहिता उलंघन गरेको भन्दै कारवाही गर्ने चेतावनी दिएका छ । आयोगले आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तरवार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यस तर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ । निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचार संहिता समेत लागू भइसकेको सन्दर्भमा आचार संहिता विपरितका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने कुरा स्पष्ट नै छ ।”
भोलि हुन लागेको उपनिर्वाचनमा बागमती प्रदेश सभा सदस्य ११० जना र बागमती प्रदेश अन्तर्गतका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना मतदाता रहेका छन् । मतदाताहरुलाई बिहीबार ९ बजेदेखि ३ बजेसम्म हुने मतदानमा सहभागी हुन आयोगले अनुरोध गरेको छ ।
एमालेले बादललाई उम्मेदवारी बनाएपनि नेपाल समूहले डा. खिमलाल देवकोटालाई अगाडि सारेको थियो । पार्टीको विवाद उत्कर्षमा भएको बेला नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको नेपाल समूहले साझा उम्मेदवार बनाएका थिए । अहिले विवाद समाधानतिर गएपछि नेपाल समूह मौन बसेको छ । हिजो बादलले नेता नेपाललाई भेट्न निवासमै पुगेका थिए । तर, आफूले सहयोग गर्न नसक्ने घुमाउरो जवाफ पठाएर फर्काएका थिए ।