
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा जित्ने सम्भावना बढ्दै गएको छ । बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दर्ता गराएका बादलको पक्षमा महोल बन्दै गएको छ ।
एमालेभित्रको विवाद मिल्ने दिशमा अगाडि बढेपछि नेता माधव कुमार नेपाल पक्ष मौन बस्दा बादललाई राहत भएको छ । विवाद फुटको डिलमा पुगेको अवस्थामा नेपाल समूहले डा. खिमलाल देवकोटालाई अगाडि सारेको थियो । देवकोटालाई नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) जनता समाजवादी पार्टीको उपेन्द्र समूहले पनि साथ दिएको छ । देवकोटाले विपक्षी गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
एमालेले आफ्ना पार्टीका उम्मेदवारलाई मत हाल्ने एमालेले ह्वीप जारी गरेको छ । महासचिव ईश्वर पोखरेलले सूर्य चिन्हमा मतदान गर्न भन्दै पार्टीका तर्फबाट प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई ह्वीप जारी गरेका हुन् । यसबारे नेपाल समूहले कुनै धारणा सार्वजनिक नगरेपछि नेपाल समूहका मतदाताले पनि गृहमन्त्री बादललाई मतदान गर्ने तयारी गरेका छन् ।
बादललाई एमालेसँगै जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह र राप्रपाको पनि समर्थन रहेको छ ।
एमालेको विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली पक्षबाट पाँच र नेपाल पक्षबाट पाँच जना सदस्य रहेको कार्यदल गठन गरेको छ । उक्त कार्यदलले विवाद कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा हमवर्क गरिरहेको छ । कार्यदलको प्रतिवेदन र सुझावअनुसार पार्टी विवाद मिलाउन ओली नेपालले सहमति गरेका छन् । एमालेको विवाद समाधान होला नहोला तर अहिलेको वार्ता र संवादले बादललाई जितको सम्भावना बढाउँदै लगेको छ ।
नेपाल समूहले जे निर्णय गरेपनि आफूले उम्मेदवारी दिइसकेकोले फिर्ता नहुने देवकोटाले बताएका छन् । उनले आफू मैदानबाट नभाग्ने बताएका छन् ।
यसैबीच माओवादी केन्द्रले देवकाटालाई मतदान गर्न निर्देशन दिइसकेको छ । काँग्रेसले पनि देवकोटालाई नै साथ दिने भनिसकेको छ । तर, एमाले सिंगो, ठाकुर समूहको साथ हुँदा बादलले जित्ने सम्भावना बढी छ ।
- फाइल फोटो