
काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले पर्सि संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिनेबारे निर्णय गर्न आज दलको बैठक बोलाइएको थियो । काँग्रेसले ओलीको विश्वासको प्रस्तावको विपक्षमा उभिन अरु दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको छ ।
काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडका अनुसार ओली सरकार पूर्णरुपमा असफल भइसकेको र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने बैठकले निर्णय गरेको छ । ओली आफूैले विश्वासको मतको लागि प्रस्ताव गरेकोले अविश्वास प्रस्ताव ल्याउनु नपर्ने समेत निष्कर्ष निकालेको छ ।
देउवाले आज विहानै पार्टी पदाधिकारीको बैठक बोलाएका थिए । बैठकमा देउवाले ओली सरकार जसरी पनि विस्थापित गर्नुपर्ने धारणा राखेका थिए । ओली सरकारप्रति नरम नीति लिएको भन्दै काँग्रेस नेताहरुबाटै आलोचना खाँदै आएका देउवाले आजको दुबै बैठकमा खुलेर विरोध गरे ।
दुबै बैठकमा देउवाले ओलीविरुद्ध गठबन्धनबारे भएका छलफलबारे पनि संक्षिप्तमा जानकारी गराएका थिए । उनले ओलीले विश्वासको मत पाउने सम्भावना निकै कम रहेको समेत दाबी गरेको बैठकमा सहभागी नेतारुहले बताएका छन् ।
नयाँबानेश्वरस्थित संसद भवन परिसरमा बसेको संसदीय दलको बैठकको शुरुमा बोलेका सभापति देउवाले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा उभिन निर्देशन दिए ।