
काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमण निरन्तर बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार अहिलेसम्मकै धेरै जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहित देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ४०३ जनाको पीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । जसमध्ये ४३ हजार २१३ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ४० हजार १०३ जना हाम आइसोलेसनमा रहेका छन् भने ३ हजार ११० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४०१ जनाको आईसीयू र ११० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यसैगरी थप १ हजार २८७ जना निको भएएर सामान्वय जीवनमा फर्र्किएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुने २ लाख ८२ हजार ३८२ जना पुगेको मन्त्रालयले जनाएका छन् ।
आज पनि काठमाडौँमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । उपत्यकामा २ हजार ४९५ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये काठमाडौं जिल्लामा १ हजार ९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी बाँकेमा ५५१, रुपन्देहीमा ४२२, दाङमा २५१, कास्कीमा २१२, चितवनमा १७७, पर्सामा १६३, कैलालीमा १२५ तथा काभ्रेमा १०५, सुर्खेतमा ९७, मकवानपुरमा ७१, सुनसरीमा ६९, गोरखामा ६७, नवलपरासी पूर्वमा ४३, बारामा ४१, कञ्चनपुरमा ३७, नुवाकोटमा ५३, सिन्धुपाल्चोकमा ३५, मोरङमा ३४ र सल्यानमा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पूर्वप्रधानमन्त्री खनालमा कोरोना संक्रमण पुष्टि भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई शनिबार कोरोना पुष्टि भएको हो । खनालको अवस्था सामान्य रहेको जनाइएको छ ।
एमालेका अर्का नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ । स्वास प्रश्वासमा समस्या भएपछि मनमोहन अस्पताल पुगेका उनमा संक्रमण पुष्टि भएको हो ।