
काठमाडौं । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण र कोरोना सङ्क्रमणसँग सम्बन्धित दर्ता तथा सुनुवाइ गर्ने भएको छ । कोरोना संक्रमण बढेको भन्दै बैशाख समान्तसम्म अन्य सबै मुद्धा नहेर्ने सर्वोच्चले निर्णय गरेको छ ।
अदालतका सह–प्रवक्ता देवेन्द्र ढकालले एक विज्ञप्ति निकालेर अदालतमा बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनको दर्ता र सुनुवाइबाहेकका अन्य काम र सेवा स्थगन गरिएको जानकारी दिए ।
उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधिकरणहरूको हकमा स्थानीय परिस्थिति तथा जोखिमको अवस्था हेरेर सम्बन्धित
अदालत कार्यालयले समन्वय गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । यसको व्यवस्थापकीय समन्वय भने सर्वोच्च अदालत प्रशासनले गर्ने जनाइएको छ ।
सबैभन्दा धेरै भिड लाग्नेमध्येको अदालत पनि एक हो । एकै दिन धेरै पेशी राखिने भएकोले कानुन व्यवसायी, रिट निवेदक र विपक्षी उपस्थित हुने भएकोले अदालतमा भिड लाग्ने गर्दछ ।
काठमाडौँ कोरोना रात दो गुणा, रात चौगुणाको हिसाबमा फैलिरहेको छ । मंगलबार ४५२४ जना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै १९६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १६०२, भक्तपुरमा १२४ र ललितपुरमा २४० जनामा गरी कुल १९६६ जना थपिएको जानकारी दिएका थिए ।
सोमबार काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमण दर बढेको बढ्यै छ ।
त्यसैगरी मंगलबार देशभर ४ हजार ५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४३६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६० जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १४ हजार ६७२ जनाको पीसीआर र १ हजार ९ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।
त्यस्तै, मंगलबार थप १८ जनाको ज्यान गएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १९४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।