
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर मन्त्री बनेका जनता समाजवादीका नेताहरुको सांसद पद धरापमा परेको छ । पार्टी निर्णयविरुद्ध सरकारमा सहभागी भएको भन्दै २४ घण्टे स्पष्टीकरण सोध्दै सरकारबाट फिर्ता हुन निर्देशन गरिएको छ ।
जसपाका लुम्बिनी प्रदेशका अध्यक्ष अशोक कुमार यादवले विज्ञप्ति जारी गरेर चारै सांसदहरुलाई पार्टीबाट निलम्बन गरेको समेत उल्लेख गरेका छन् । अध्यक्ष यादवले सोमबार जारी गरेको विज्ञप्तिमा मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग स्पष्टीकरण माग गर्दै निलम्बन गरेका छन् ।
विज्ञप्तिमा सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने चेतावनी समेत अध्यक्ष यादवले दिएका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयविरुद्ध सडक संघर्ष गरेका पार्टीसँग मिलेर मिलेर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने पार्टीले बहुमतबाट निर्णय गरेको जसपाले बताएको छ ।
मुख्यमन्त्री पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका चारजना सांसदलाई मन्त्रीमा नियुक्त गरेका थिए । योसँगै लुम्बिनी प्रदेशमा नेकपा एमालेको सरकार नढल्ने अनुमान गरिएको थियो । तर, जसपाको पछिल्लो निर्णयका कारण फेरि शंका पैदा भएको छ ।
लुम्बिनी प्रदेशकै कारण जसपाको विवाद बाहिर आएको छ । अध्यक्ष महन्थ ठाकुर समूह अविश्वास प्रस्तावको विपक्षमा रहेको छ भने अर्का अध्यक्ष उपेन्द्र यादव समूह एमाले सरकार ढाल्ने पक्षमा छ । ठाकुर समूहको निर्णयअनुसार चारजनालाई मन्त्री बनाइएको थियो भने यादव समूहले बहुमतबाट फिर्ता बोलाउने निर्णय गर्दै निलम्बन गरेको छ ।
सरकारकै विषयलाई लिएर जसपामा चर्को विवाद छ । अध्यक्ष उपेन्द्र यादव र परिषद् अध्यक्ष बाबुराम भट्टराई केन्द्रदेखि प्रदेशसम्म ओली समूहको सरकार ढाल्ने पक्षमा छन् भने अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोलगायतका नेताहरुले सरकारको पक्षमा उभिएका छन् । यो विवाद बढ्दै गएमा जसपा सरकारलाई समर्थन गर्ने विषयलाई लिएर फुट्ने नेताहरु बताउँछन् ।