
काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव यही चैत्र २५ गते हुने भएको छ । बुधबार बसेको कार्यसमिति बैठकले निर्वाचनको मिति तय गरेको हो ।
निर्वाचनको मिति घोषणा भएसँगै पत्रकारहरुलाई चुनाव लागेको छ । महासंघको इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनाव हुन लागेको छ । पत्रकार तथा पत्रकार संगठनहरुले चुनावी तयारीमा जुटेका छन् ।
जिल्ला, प्रदेश र केन्द्रको चुनाव एकै दिन हुने भएकोले पत्रकारहरु चुनावी तयारीमा लागिसकेका छन् । आफ्नो उम्मेदवारी घोषणा गर्दै एजेण्डा सार्वजनि गर्न थालेका छन् । यसैबीच पत्रकार अर्जुन डोटेलले काठमाडौं शाखामा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।
महासंघको चुनावमा काठमाडौं शाखालाई विशेष महत्वको साथ हेरिएको हुन्छ । यो शाखामा अध्यक्षको उम्मेदवारी घोषणा गर्ने डोटेल पहिलो हुन् । लामो समयदेखि पत्रकारितामा क्रियाशिल डोटेलले आफूले काठमाडौंका पत्रकारका समस्यालाई नजिकबाट बुझेको बताउँदै श्रमजिवी पत्रकारको हकहितको लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।
उम्मेदवारी घोषणासँगै १८ बुँदे प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् । उनले पत्रकार कल्याणकारी कोषको बृद्धि, साना लगानीबाट संचालित पत्र पत्रकिालाई सरकारले लोक कल्याणकारी विज्ञापनमा गरेको भेदभावको कडा प्रतिवाद गर्ने, काठमाडौँ शाखामा आवद्ध पत्रकारक बिरामी भएर अस्पतापल भर्ना हुँदा उपत्यकाभित्रका कुनैपनि अस्पतालमा अस्पतालको नियमअनुसार मिल्ने र सक्ने छुटको लागि पहल गर्ने, पत्रकार बिरामीको अवस्था हेरी ५ हजारदेखि २० हजारसम्मक शाखाले तुरुन्तै सहयोग गर्नेलगायतका प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
त्यसैगरी शारीरिक अवस्था कमजोर भएका पत्रकार र ६० वर्ष नाघेका अग्रज पत्रकारहरुलाई भत्ताको व्यवस्था गर्ने, पत्रकार महासंघको भवन निर्माणको लागि पहल गर्ने, गैर पत्रकारलाई रोक्न नयाँ सदस्यता बितरणलाई हाल रहेको विधिानको अधीनमा रही समिति गठन गरेर पारदर्शी तरिकाले सदस्यता बितरण गर्ने, नयाँ सदस्यता आवेदन जुनसुककै बेला दिन सक्ने व्यवस्था मिलाउनेलगायतका प्रतिवद्धता अघि सारेका छन् ।