काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समूहको राष्ट्रिय भेला जारी छ । भेलामा नेपालले तयार गरेको कार्यपत्रमाथि छलफल सुरु भएको छ ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेन पार्टी प्यालेसमा सुरु भएको भेलामा उद्घाटन सत्र सकेर मिडियाकर्मीलाई विदा गरिएको थियो । त्यसलगत्तै नेता नेपालले कार्यपत्र वाचन गरेका थिए ।
त्यसअघि भेलालाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनका नाममा देशव्यापी गुट निर्माण गरेको भन्दै त्यसका पीडितहरु पनि यो भेलामा उपस्थित भएको बताएका थिए ।
“तपाई पनि पीडित, हामी पनि पीडित, पीडित–पीडित हामी एकै ठाउँ” नेता नेपालले भने । उनले पार्टीमा यो परिस्थिति सिर्जना हुनुमा मुख्य दोषी ओली भएको भन्दै केन्द्रदेखि जिल्लासम्म केपी ओलीपीडित बनेको बताए ।
इमान्दार र क्रियाशील कार्यकर्ता केपी ओलीको चेपुवामा परेको बताउँदै नेता नेपालले शून्य विचार भएकाहरुको जमान बटुल्नु वेकार भएको भन्दै पार्टी र राष्ट्रका लागि उपयोग व्यक्तिको साथ आवश्यक भएको उल्लेख गरे ।
त्यसैगरी भेलामा बरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई विभाजन र विघटन गर्ने दुष्प्रयास गरेको दावी गरेका थिए ।
एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले ओलीको पार्टी विभाजन गर्ने दुष्प्रयासका विरुद्ध देशभरीका कार्यकर्ता आक्रोशित भएपछि कार्यकर्ता भेला बोलाउनु परेको बताए ।