News Portal

  • कोरोना संक्रमण बढेपछि भारतमा फेरि लकडाउन, नेपालमा ९६७ जना मात्रै संक्रिय संक्रमित

    डबली संवाददाता२०७७ फागुन १६ गते
    १७२ पटक

    काठमाडौं । भारतमा फेरि कोरोना भाइरस संक्रमणको दर ह्वात्तै बढेको छ । भारतका विभिन्न राज्यमा पछिल्लो समय संक्रमणको दर पुनः बढेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

    भारतीय संचारमध्यमले सार्वजनिक गरेका तथ्यांकअनुसार महाराष्ट्र, केरला, कर्नाटका, तेलङ्गना, मध्यप्रदेश, छत्तिसगढ र पञ्जाव राज्यहरूमा पनि बढेको छ । महाराष्ट्रको अमरावती जिल्लामा सबैभन्दा बढी संक्रमित थपिएका छन् । त्यहाँ १० हजार भन्दा बढी संक्रमित भइसकेका छन् ।  अमरावली जिल्लासँगै अन्य राज्यका केही जिल्लाहरू कोरोना संक्रमण दर बढेसँगै फेरि लकडाउन लगाइएको छ ।

    विज्ञहरुका अनुसार स्वास्थ्य मापदण्डको पूर्ण पालना हुन नसक्नु, अत्याधिक भिडभाड बढ्दै जानु र परीक्षण तथा कन्ट्याक ट्रेसिङ पनि कम भइरहेकाले संक्रमणको अवस्था भयावह हुन पुगेको हो । संक्रमणको अवस्था भयावह हुनसक्ने भन्दै सतर्क रहन चिकित्सकहरूले सुझाव दिएका छन् ।

    यसैबीच नेपालमा भने संक्रमण दर घटेको छ । नेपालमा अहिलेसम्म २ लाख ७४ हजार ४६५ जना संक्रमित भइसकेका छन् । यीमध्ये २ हजार ७ सय ७३ जनाको ज्यान गइसकेको छ । त्यस्तै २ लाख ७० हजार ३२५ जना निको भएर सामान्य जीवनमा फर्किसकेका छन् ।

    अहिले उपचाररत वा संक्रिय संक्रमितको संख्या हजारभन्दा तल झरेको छ । स्वास्थ्या तथा जनसंख्या मन्त्रालयले शनिबार दिएका जानकारी अनुसार ९ सय ६७ जना उपचाररत छन् । उनिहरुमध्ये १० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने अन्यको सामान्य रहेको बताइएको छ ।

    शनिबार थप दुई जना संक्रमितको उपचारको क्रममा ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, शनिबार थप ८१  जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ६२ जना निको भएर घर फर्किएका थिए ।

    प्रतिकृया दिनुहोस्