News Portal

  • जतिबेला पनि बैठक बस्ने सक्ने भन्दै सांसदहरुलाई काठमाडौं नछोड्न निर्देशन 

    डबली संवाददाता२०७७ फागुन १३ गते
    १०१ पटक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समूहले आफू पक्षीय सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ। राजधानी काठमाडौंमा भएका सांसदहरुलाई बाहिर नजान र जिल्लातिर भएका सांसहरुलाई पनि काठमाडौं आउन भनिएको छ ।

    बुधबार बसेको संसदीय दलको बैठकमा अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेशसमेत दिएकाले सो अवधिभित्र जतिबेला पनि बैठक हुनसक्ने जानकारी गराएका हुन्।

    हिजोको बैठकमा दलको नेताबाट ओलीलाई हटाएर प्रचण्डलाई बनाउने तयारी गरिएपनि धेरै सांसदहरु जिल्लातिर भएकोले त्यसबारे कुनै प्रस्ताव अगाडि बढाइएन । संसद् विघटनविरुद्धको कार्यक्रमको क्रममा धेरै सांसहरुले जिल्लातिर गएकोले बुधबार उपलब्ध सांसदहरुको बैठक गरिएको थियो ।

    बैठकमा प्रचण्ड र नेपालले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सविस्तार जानकारी गराउँदै संसद् पुनःस्थापनाको आन्दोलनमा रहेका सबै पक्षलाई धन्यवादसमेत दिएका थिए।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघट्न गर्ने निर्णय गरेसँगै प्रचण्ड-नेपाल समूहका सडक संघर्षमा उत्रिएको थियो । आन्दोलनसँगै सर्वोच्च अदालतमा रिट समेत दायर गरेको थियो ।

    संसद् विघटनविरुद्ध  (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता देवप्रसाद गुरुङसहित कानुन व्यवसायीका गरी १३ रिट परेका थिए । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले मङ्गलबार सरकारको उक्त कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको थियो।

    प्रतिकृया दिनुहोस्