News Portal

  • ओली समूहका प्रवक्ता भन्छन्-सर्वोच्चको फैसला मानेर जान्छौं, अरु कसले के भने ?

    डबली संवाददाता२०७७ फागुन ११ गते
    ५६ पटक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला मानेर जाने नबताएका छन् । उनले फैसला अपेक्षित नभएको समेत बताए ।

    संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले बदर गरेपछि पहिलो पटक प्रतिक्रिया दिँदै ज्ञवालीले देशको शासन मान्ने पार्टी भएकाले अदालतको फैसलालाई स्वीकार गर्ने बताए । उनले जुन समस्या देखाएर संसद विघटन गरिएको थियो, त्यो समस्या भने अब कायमै रहने चिन्ता ज्ञवालीले व्यक्त गरे ।

    तर अन्य नेताहरुले देशको राजनीतिक सही बाटोमा आएको बताएका छन् । सभामुखदेखि विभिन्न राजनीतिक पार्टीका नेताहरुले प्रारम्भिक प्रतिक्रिया दिँदै सर्वोच्च अदालतको फैसलाले जनताको जित भएको बताएका छन् ।

    सभामुख अग्नि सापकोटाले अदालतप्रति जनताको विश्वास बढेको प्रतिक्रिया दिँदै अदालतले जनताको मन भावनाअनुसार फैसला गरेकोले जनताको विश्वास बढेको बताए ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । उनले अदालतको फैसलाले नेपाली जनताको जित भएका बताए । प्रचण्डले सर्वोच्च अदालतले सही फैसला गरेको बताउँदै नेपाली जनतालाई बधाई  समेत भनेका छन् ।

    त्यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । देउवाले विज्ञप्ति जारी नै गरेर नेपाली कांग्रेस विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने गरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गरेको बताएका छन् ।

    देउवाले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको पनि स्मरण गराएका छन् ।

    पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्ने निर्णयप्रति खुसी व्यक्त गरेका छन् । हाल भारतमा उपचारका लागि रहेका भट्टराईले अस्पतालबाट ट्वीट गर्दै सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं बताएका हुन् ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला स्वागयोग्य भएको बताउँदै नेपालको राजनीति सहि ट्रयाकमा हिँड्ने बताएका छन् ।

    गौतमले सर्वोच्च अदालतको फैसला नेपाली जनताको भावना, संविधानको मर्म अनुसार भएको बताए । उनले खुशी व्यक्त गर्दै अदालतलाई बधाई दिएका छन् । उनले नेपालको राजनीतिमा (नेकपा) लाई फेरि मिलाउने बताएका छन् ।

    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले देशलाई ठूलो दुर्घटना हुनबाट बचाएको बताएका छन् । यादवले सर्वोच्च अदालतप्रति जनताको विश्वास झनै बढेर गएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कदम चालेको कुरा सर्वोच्च अदालतले ठहर गरेको बताए । अदालतको फैसलाले लोकतन्त्र, संघीयता र गणतन्त्र बलियो बताउने प्रतिक्रिया दिए ।

    सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्री ओलीको राजिनाको माग बढेको छ । प्रचण्डदेखि नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजाल, गगन थापा, नारायणकाजी श्रेष्ठलगायतले ओलीको राजिनामा मागेका छन् ।

    त्यसैगरी संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका (नेकपा)का नेता तथा प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले गरेको बदर सकारात्मक भएको बताएका छन् । फैसला सहि र सकारात्मक भएको बताउँदै यसको समर्थन र स्वागत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्