News Portal

सुरक्षा परिषद्को बैठक सकिएलगत्तै मन्त्रिपरिषद् बैठक, नेकपामाथिको प्रतिबन्ध फिर्ता हुन सक्ने

डबली संवाददाता२०७७ फागुन ११ गते
७७ पटक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद्को बैठक बालुवाटारमा जारी छ । अहिले विहान साढे ९ बाजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको बताइएको छ ।

सोमबार पार्टीको कार्यक्रमको सिलसिलामा प्रधानमन्त्री ओली राजधानी बाहिर थिए । रक्षा मन्त्रालयका सचिव सदस्य सचिव रहेको परिषदमा  रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव, प्रधानसेनापति सदस्य रहने व्यवस्था छ ।

आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा पनि सहभागी छन् । आजको बैठकमा नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध फिर्ता लिने परिषद् अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रस्ताव राख्ने बताइएको छ । उक्त प्रस्ताव परिषद्ले पारित गर्नेछ ।

त्यसलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । स्रोतका अनुसार आजैको मन्त्रिपरिषद् बैठकले नेकपामाथिको प्रतिबन्ध फिर्ता लिनेछ । यसअघि सार्वजनिक कार्यक्रममै ओलीले नेकपामाथिको प्रतिबन्ध फिर्ता लिने घोषणा गरेका थिए ।

त्यस्तै नेकपाका महासचिव विप्लवले पनि गतिविधि गर्न सहज हुने अवस्थामा वार्ताको लागि सकारात्मक भएको विज्ञप्तिमार्फत बताएका थिए । त्यसपछि सरकार र नेकपाबीच वार्ता हुने वातावरण बनेको थियो ।

‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्बाद र बार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ’ विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको थियो ।

यसैबीच सोमबार मात्रै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको थियो । यो भेटलाई अर्थपूर्ण मानिएको थियो ।

प्रतिकृया दिनुहोस्