
काठमाडौं । सरकारले प्रदेश नम्बर २ को प्रमुखबाट तिलक परियारलाई बर्खास्त गर्दै राजेश झालाई नियुक्त गरेको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकले परियारलाई पदमुक्त र झालाई नियुक्तको राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले झालाई नियुक्त गर्दै झालाई पद तथा गोपनियताको शपथ खुवाएकी छन् । शुक्रबार साँझ राष्ट्रपति निवास शीतल निवासमा आयोजित कार्यक्रममा झाले शपथ लिएका हुन् ।
शपथग्रहण समारोहलाई उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने बहिस्कार गरेका छन् । संवैधानिक आयोगका पदाधिकारीहरूको सपथ ग्रहण समारोहमा जानु पर्ने संवैधानिक व्यवस्था छ ।
नेपालको संविधानको धारा १६७ बमोजिम झाले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्र सहभागी थिए ।
तिलक परियार जनयुद्ध लडेका पूर्व माओवादीका नेता हुन् । (नेकपा) विभाजन भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली समूहले परियारलाई बर्खास्त गर्न दवाव दिइरहेको थियो ।
यसैबीच सरकारले परियारलाई पदमुक्त गरेसँगै दलित अगुवाहरु आक्रोसित भएका छन् । गणतन्त्र ल्याउन पसिना बगाएको दलित नेतालाई अपमान गरेर पदमुक्त गरिएको भन्दै उनिहरुले विरोध समेत जनाएका छन् । उनीहरुले यो घटनाले प्रधानमन्त्री ओली दलितप्रति अझै पूर्वाग्रही रहेको समेत बताएका छन् ।
सामाजिक संजालमा दलजीत श्रीपाइलीले प्रधानमन्त्री ओलीलाई प्रतिगमनका मतियार भएको बताउँदै छापामार शैलीमा २ नं.प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेर उत्पिडित वर्ग, क्षेत्र,समुदाय विशेषतः दलित समुदायमाथि घाेर हमला गरेकाे बताउँदै दलित विराेधी आफ्नाे बानीकाे उजागर गरेकाे बताएका छन् ।
प्रधानमन्त्री ओली नष्लवादी भएको बताउँदै सरकार दलित समुदाय विराेधी हाे भन्ने पुष्टि भएकाे बताउँदै श्रीपाइलीले जनयुद्ध ,जनआन्दोलन, मधेश तथा उत्पिडित वर्ग, क्षेत्र, लिङ्ग र समुदायकाे अधिकारका संघर्षको उपलब्धिहरुमाथि प्रहार बताएका छन् । उनलवे अभिजात वर्गकाे नेतृत्वले दलित समुदायमाथि गरेकाे अराजनीतिक र अवैधानिक निर्णयकाे खारेजीको लागि उत्पिडित वर्ग,समुदाय र विशेषतः सम्पूर्ण दलित समुदाय एकजुट भै सशक्त संघर्षमा उत्रिन अपील समेत गरेका छन् । त्यस्तै अर्का दलित अगुवा दलमर्दन कामीले सरकार ब्रहणवादी सोँचबाट मुक्त हुन नसकेकै कारण परियारलाई पदमुक्त गरिएको बताए । उनले यसको विरोध गर्न अपील समेत गरेका छन् ।
यसैबीच (नेकपा)को प्रचण्ड-माधव नेपाल समूह निकट नेपाल दलित मुक्ति स गठनले विज्ञप्ति जारी गरेर परियारलाई पदमुक्त गर्ने निर्णयको विरोध जनाएका छन् । संगठनका सहइन्चार्ज दलजीत श्रीपाइली र सहसंयोजक गणेश बिकले संयुक्त विज्ञप्ति जारी गरेर दलित विरोधी सरकारको निर्णयविरुद्ध संघर्षमा जाने चेतावनी समेत दिइएको छ ।
यस्तो छ प्रेस विज्ञप्ति
नेपालको संविधानमा हुंदै नभएको गत पौष ५ गतेको असंबैधानिक तथा प्रतिगमनकारी कदमको चौतर्फि विरोध भइरहेको बेला उत्पीडित दलित समुदायको मुक्तिदाता हुँ भन्ने नक्कली हुँकार दिइरहेका केपी शर्मा ओलीले राजनीतिक पूर्वाग्रहका आधारमा प्रदेश नंबर २ का प्रदेश प्रमुख तिलक परियारलाई आज ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसकै दिनमा पदमुक्त गरेका छन् । प्रदेश प्रमुखको पदमा नियुक्त भएको दिनदेखि नै नेपालको संविधानको पूर्ण पालना गर्दै तटस्थ र निष्पेक्ष भूमिका निर्वाह गर्दै आएका दलित आन्दोलनका लोकप्रिय नेता तिलक परियारलाई आफ्नो दलित विरोधी ब्राम्हणवादी चरित्र प्रदर्शन गर्दै पदमुक्त गरिएको घट्नाप्रति हाम्रो संगठन नेपाल दलित मुक्ति संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । हामीले यस घट्नालाई केवल तिलक परियारको व्यक्तिगत मामलाका रुपमा मात्र नलिई सिंगै दलित समुदायमाथिको सामुहिक अपमान र समानुपातिक तथा समावेशी चरित्र बोकेको नेपालको संविधानमाथिको हमलाका रुपमा लिएको छौं । नेपाल दलित मुक्ति संगठनका तर्फबाट यस प्रतिगामी र दलित विरोधी घट्नाको घोर भत्र्सना गर्दछौं ।
केपी ओलीले सरकारको नेतृत्व गरेदेखि नै दलित समुदायको संबैधानिक अधिकारमाथि हमला गर्दै आएका थिए । जस्तै, दलित विकास समिति र वादी विकास बोर्डलाई विघटनको अवस्थामा पुरयाउनु, राष्ट्रिय दलित आयोग ५ वर्षसम्म गठन नगर्नु, लोकसेवा आयोगको विज्ञापनमा दलित कोटा कटौति गर्नु, आफ्नो कुशलता प्रदर्शन गरेका विवादरहित एक मात्र दलित क्याबिनेट मन्त्रीलाई हटाइनु, सातवटा प्रदेशमा सरकार गठन गर्दा एक जना दलितलाई पनि मन्त्री नबनाइनु, संघीय तथा प्रादेशीक योजना आयोग तथा दर्जनबढी संबैधानिक आयोगहरुमा दलित समावेशीकरणलाई अस्वीकार गर्नु, भूमिआयोगलगायतमा दलितहरुलाई बहिष्करणमा पार्नु उनका दलित विरोधी प्रमुख कामहरु हुन् । यसका साथै पश्चिम रुकुमको नवराज विकलगायत ६ जनाको हत्या हुने गरी भएको नरसंहारका विषयमा एक शब्द नबोल्नु, मधेशमा २२ जनाबढी दलितहरुको हत्या हुंदा कुनै वास्ता नगर्नु, बझांगको सम्झना वि.कको बलात्कारपछिको हत्यामा गोहीका आँशु बगाएर ५ लाख दिने सहमति गरेर ३ लाख मात्र दिनुलगायतका घट्नाहरु केपी ओली सरकारका श्रृखलाबद्ध दलित विरोधी कदम हुन ।
केपी ओलीले तिलक परियारलाई पद मुक्त गर्ने यस लज्जाष्पद घटनाले कपी ओलीको दलित विरोधी, अराजनीतिक, समावेशी तथा सामानुपातिक विरोधी, सामन्ती सोचमा आधारित अराजनीतिक, व्यक्तिवादी, नाँगो र भद्दा सोचलाई उदांगो बनाएको छ । नेपालको संविधानको मर्म र भावना विपरितको यस घट्नाको हामी घोर भत्र्सना गर्दै देशव्यापी विरोधमा उत्रन सम्पूर्ण उत्पीडित दलित समुदाय तथा न्यायप्रेमी जनसमुदायमा आह्वान गर्दछौं ।