
काठमाडौं । पहिलो पटक विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को सफल आरोहण गरेर फर्केको नेपाली टोलीलाई काठमाडौंमा सम्मान गरिएको छ । जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएको १० जना नेपाली आरोहीलाई स्वागत तथा सम्मान गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई मंगलबार सम्मान गरेका हुन् । प्रधानमन्त्रीले माउन्ट केटु आरोहण गरी फर्केको टिमलाई सम्मान गर्दै आरोहीलाई अवार्ड दिने घोषणासमेत गरे । आरोहीबाट सबैले प्रेरणा लिन सक्ने भन्दै टिमका सदस्यलाई बधाई ज्ञापन गरे ।
यसअघि आरोहीहरुलाई पाकिस्तानी प्रधानमन्त्रीले समेत सम्मान गरेका थिए ।
नेपाली टोली पाकिस्तान र चीनको सिमानामा रहेको ८ हजार ६११ मिटर अग्लो माउन्ट केटू को जाडोयाममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएको छ । आरोहण टोलीमा निर्मल पुर्जासहित मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा रहेका छन् ।
आरोही टोलीलाई त्रिभुनव अन्तर्राष्ट्रिय विमान स्थलमा पर्यटन मन्त्रालयका अधिकारीसहित पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घलगायत पर्यटन क्षेत्रका संस्थाको सहभागितामा भव्य स्वागत तथा सम्मान गरिएको थियो ।
विमानस्थलबाट आरोहीलाई राष्ट्रिय झण्डाका साथ मोटरसाइकल र्यालीद्वारा तीनकुने, नयाँबानेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै ठमेल परिक्रमा गरी भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमबीच सम्मान गरिएको थियो । त्यसलगत्तै प्रधानमन्त्री ओलीले आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको थियो ।
नेपाली आरोही टोलीले यही माघ ३ शनिबार राति १ बजे केटूको शिखरमा पुगेको थियो । चुचुरोमा नेपालको राष्ट्रिय गानका साथ नेपाली झण्डा फहराएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । प्रतिकूल मौसमका कारण आरोहण समय तालिका ढिलाइ भएको थियो । दोस्रो क्याम्पमा आरोहीको त्रिपाल र आरोहणका लागि आवश्यक उपकरण हावाले उडाएपनि उनीहरु चुचुरोति अगाडि बढेका थिए ।
जाडोयाममा माइनस ८० डिग्रीको तापक्रम र १०० माइल प्रतिघण्टाको वायु गति चल्ने केटूमा अहिलेसम्म यो मौसममा कसैले पनि आरोहण गर्न सकेका थिएनन् । केटू आरोणको लागि निकै कठिन मानिन्छ । अहिलेसम्म ८६ जना आरोहीको शिखरमा नपुग्दै ज्यान गइसकेको छ भने जम्मा ३६७ सफल आरोहण भएका छन् ।