News Portal

कश्मीर गोली हानाहानमा दाङका प्रेमबहादुर खत्रीको मारिए

डबली संवाददाता२०७७ मंसिर १३ गते
२७६ पटक

काठमाडौं । भारतको जम्मु–कश्मीरमा भएको गोली हानाहानमा एक नेपाली युवाको ज्यान गएको छ । पाकिस्तान-भारत सीमा क्षेत्रमा शुक्रबार भएको गोली हानाहानमा परी भारतीय सेनामा कार्यरत दाङको तुलसीपुरका प्रेमबहादुर खत्री र एक भारतीयको ज्यान गएको हो ।

रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा गोली लागेर सेनाका नायक खत्री  र राइफलम्यान सुखवीर सिंहको मृत्यु भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । पाकिस्तानतर्फबाट चलेको गोली लागेर गम्भीर घाइते दुवैको मृत्यु भएको भारतले जनाएको छ।

दाङ तुलसीपुर-९ बेलुवाका ३० वर्षीय खत्री भारतको सीमा सुरक्षामा खटिएका थिए । खत्रीको शव आज विहान कश्मीरबाट लखनउ आइपुग्ने र शव लिन पिता लालबहादुर शुक्रबारै त्यसर्फ गएको बेलुवा प्रहरी चौकीका इन्चार्ज असई प्रदीप खड्काले बताए ।

खत्रीका बुवा पनि भारतीय सेनाका भुपु सुबेदार हुन् । पिताकै पथ पछ्याएर १३ वर्षअघि उनी भर्ती भएका थिए । घरमा आमाबुबा, श्रीमती, ७ वर्षीय छोरी र ५ वर्षीय छोरा छन् ।

गत चैतअघि दुई महिने बिदामा आएर घर बसेर गएका उनी नियमित फोन सम्पर्कमा रहेको र बिहीबार राति मात्रै भिडियो कलमा कुराकानी भएको परिवारले बताएका छन् । डिउटी जानुअघि परिवारका सबै जनासँग खत्रिले घरव्यवहारको कुरा गरेका थिए ।

‘लाइन अफ कन्ट्रोल’ मा शान्ति कायम गर्ने समझदारी उल्लंघन गर्दै पाकिस्तानतर्फबाट गोलाबारी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् भने पाकिस्तानी संचारमाध्यमहरुले भारतले पहिलो गोली चलाएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्