News Portal

आज माओवादी केन्द्रको पत्रकार सम्मेलन नयाँ नेतृत्व र कार्यक्रम सार्वजनिक गरिने 

मनराज कठायत२०७७ मंसिर १२ गते
८४ पटक

काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) ले पत्रकार सम्मेनल गरेर नयाँ नेतृत्व र कार्यक्रम सार्वजनिक गर्न लागेको छ । यही मंसिर ८,९ र १० गते काठमाडौं बौद्धमा केन्द्रीय समितिको बैठक तथा विशेष राष्ट्रिय भेलाबाट लिएका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

बैठक तथा विशेष राष्ट्रिय भेलाले तत्कालिन अध्यक्ष गोपाल किराँतीलाई हटाएर कर्णजीत बुढाथोकी ‘सुशील’ लाई अध्यक्षमा निर्वाचित गरेको थियो । त्यस्तै अन्य पदाधिकारीसहित केन्द्रीय समित चयन गर्दै पार्टीको आगामी कार्यदिशा तथा कार्यक्रम पनि पारित गरेको थियो । माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष सुशीलले पार्टीको बैठक तथा भेला विषय परिस्थितिमा पनि भव्यताका साथ सम्पन्न गरियो, त्यसले राष्ट्रियता, जनतन्त्र, जनजीवीका समस्याहरुको समाधानका लागि देशव्यापी जनसंघर्षको अनिवार्य तयारीमा जुट्ने कार्यभार हाम्रो अगाडि ल्याएको बताए । उनले पत्रकार सम्मेलनमा सबै विषयको जानकारी दिने बताए ।

अनामनगरस्थित संवाद डबलीमा आज (शुक्रबार) दिउँस ठिक १ बजेबाट पत्रकार सम्मेलन सुरु हुने सुशीलले जानकारी दिए । पत्रकार सम्मेलनमा बैठकका निर्णयको सार्वजनिकिकरण गर्नुका साथै विभिन्न पार्टी संगठन परित्याग गरि नेकपा (माओवादी केन्द्र) मा समाहित हुन आएका दर्जनौं नेता, कार्यकर्ताहरुलाई स्वागत तथा बधाईको कार्यक्रम समेत राखिएको पार्टीले जनाएको छ ।

पछिल्लो समय माओवादी केन्द्रमा वैचारिक राजनीतिक रुपमा तत्कालिन नेतृत्वमा देखिएको विचलिन र त्यसबाट आएको विभाजनले आन्तरिक पार्टी संगठन कमजोर भयो भन्ने हल्ला चलिरहँदा त्यसलाई माओवादी केन्द्रका अध्यक्ष सुशीलले पार्टीमा वैचारिक एकता, संगठनमा एकता, बाहिरी क्रान्तिकारी शक्तिबीच बलिायो मोर्चाबन्दी र ब्यापक रुपमा क्रान्तिकारी ध्रुविकरण भइरहेको बताएका छन् ।

माओवादी केन्द्रका निवर्तमान अध्यक्ष गोपाल किरातीमा देखिएको गम्भिर वैचारिक राजनीतिक विचलनता, संगठनात्मक अराजकता र त्यसमा यसअघि असोज २५ र २६ गते काठमाडौंमा सम्पन्न पार्टीको पोलिटव्यूरो बैठकले गरेको ऐतिहासिक निर्णय समेत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने बताइएको छ ।

माओवादी केन्द्रले उक्त पोलिटव्युरो बैठकबाट निवर्तमान अध्यक्ष किरातीले आध्यात्मवादी बाटोमा पार्टी संगठनलाई फसाउने र मालेमावादी पथ प्रदर्शक सिद्धान्तबाट विचलित भएको ठहर गर्दै पार्टी अध्यक्षको जिम्मेवारीबाट हटाएको माओवादी केन्द्रले जनाएको छ ।

त्यस्तै पछिल्लो समयमा किरातीले अबैधानी, गैह्रजिम्मेवारीपूर्ण ढंगले पार्टी विघटन गरेको भ्रामक दुश्प्रचार गरेको कारण माओवादी केन्द्रले हालै बैठकसँगै विशेष राष्ट्रिय भेला सम्पन्न गरेर कर्णजीत बुढाथोकीको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

बैठक तथा भेलाले ९९ सदस्यीय केन्द्रीय समिति, ३३ सदस्यीय पोलिटव्यूरो, १५ सदस्यीय स्थायी समिति निर्वाचित गरेको थियो । त्यस्तै पार्टीको वरिष्ठ नेतामा तिलक थापा मगर, उपाध्यक्षमा रंगनाथ ढकाल लगाएतलाई निर्वाचित गरेको छ ।

माओवादी केन्द्रले आज आयोजना गर्न लागेको उक्त पत्रकार सम्मेलनमा पार्टीका नेता, कार्यकर्ताहरुका साथै सम्पूर्ण मिडिया, सञ्चारकर्मिहरु, पत्रकारहरुलाई उपस्थित हुन र समाचार सम्प्रेषण गरिदिनका लागि अनुरोध समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्