News Portal

प्रचण्डका घरभेटीले दोस्रो पटक हाने किसानका पेटमा लात, कम्पनी कालोसूचीमा

डबली संवाददाता२०७७ मंसिर १० गते
१६८ पटक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डका घरभेटी शारदाप्रसाद अधिकारीले किसानलाई दोस्रो पटक धोका दिएका छन् । रासायनिक मल ल्याउने ठेक्का लिएर दोस्रो पटक मल नल्याएर धोका दिएका हुन् ।

अधिकारीको शैलुङ इन्टरप्राइजेजले दो्स्रो पटक पनि कबोल बमोजिम मल नल्याएपछि सरकारले धरौटी जफत गर्दै कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी राजेन्द्रबहादुर कार्कीका अनुसार शैलुङलाई थपेको समयभित्र पनि मल नल्याएकाले ठेक्का रद्ध गरेर सरकारले नयाँ प्रक्रिया शुरु गरेको छ ।

मल ल्याउने ठेक्का लिएर काम नगरेकामा मात्रै दोस्रो पटक दण्डित शैलुङलाई तीन पटकसम्म पत्राचार गर्दा पनि उसले कुनै जवाफ नदिएको कम्पनीले जनाएको छ । पत्रको जवाफसमेत नदिई सम्पर्कविहीन भएपछि कम्पनीले २३ नोभेम्बर २०२० (२०७७ मंसिर ८) मा फेरि अर्को ग्लोबल टेण्डर आह्वान गरेको छ ।

३० हजार मेट्रिक टन युरिया मल ल्याउन ठेक्का लिएको शैलुङले मल नल्याएको मात्र नभई सम्पर्कविहीन भएपछि ठेक्का सम्झौता रद्द गरी धरौटीबापतको पाँच करोड ५६ लाख ४९ हजार रुपैयाँ जफत गरेको पनि कम्पनीले जनाएको छ ।

कात्तिक २८ गते बसेको कम्पनीको बैठकले सरकारलाई ठग्ने काममा संलग्न शैलुङलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद कार्यालयलाई आग्रह गर्दै पत्राचार गरिसकिएको पनि सूचना अधिकारी कार्कीले जानकारी दिए ।

पहिलो पटक धानका लागि मल ल्याउन ठेक्का लिएर काम नगरेको शैलुङलाई नै कम्पनीले गहुँ र तोरीको लागि चाहिने ३० हजार मेट्रिक टन युरिया मल ल्याउन पनि ठेक्का दिलाएको थियो ।

ठेक्काअनुसार अधिकारीले कात्तिक २२ गतेभित्र मल उपलब्ध गराउने पर्ने थियो । कम्पनी र अधिकारीको शैलुङबीच असार १८ गते सम्झौता भएको थियो ।

पहिलो ठेक्का अनुरुपको मल उपलब्ध नगराउँदा यस पटकको धान बालीमा कृषकले मल नै हाल्न पाएनन् । जसका कारण धानको उत्पादनमा समेत असर परेको छ ।

अधिकारीले मल नल्याउँदा उत्पादनमा कमी आएको छ । यसले भोकमरी निम्त्याउन सक्ने देखिएको छ । अधिकारीले सम्झौता गरेर पनि मलन ल्याएर किसानको पेटमा लात हानेका छन् ।

प्रतिकृया दिनुहोस्