News Portal

भारतमा कम्युनिस्टप्रति आकर्षण बढ्दै, बिहारको चुनावमा सफलता

डबली संवाददाता२०७७ कात्तिक २७ गते
२६१ पटक

काठमाडौं । भारतमा कम्युनिस्ट पार्टीप्रति आकर्षण बढिरहेको छ । बिहारमा सम्पन्न चुनावले कम्युनिस्टप्रति भारतीय जनताको आकर्षण बढिरहेको देखाएको ।

चुनावी मैदानमा रहेका तीनवटै कम्युनिस्ट पार्टीलाई अघिल्लो चुनावको तुलनामा सफलता मिलेको छ । राष्ट्रिय जनता दलसँगको एलाइन्समा तीन कम्युनिष्ट पार्टीले जम्मा २९ वटा सिटमा प्रतिस्पर्धा गरेका थिए । जसमा २९ सिटमध्ये कम्युनिष्ट पार्टी अफ इन्डिया (सिपिआई) ६ सिटमा, सिपिआई (एमएल) १९ सिटमा र कम्युनिष्ट पार्टी अफ इन्डिया (सीपीआई एम) ले चार सिटमा प्रतिस्पर्धा गरेका थिए ।

पछिल्लो नतिजा अनुसार सिपिआईले दुई सिट जितेको छ, सिपिआई (एमएल)ले १२ सिटमा र सिपिआई(एम) ले २ सिट गरी कम्युनिस्ट पार्टीले १६ सिट जितेका छन् ।

सन् २०१० र २०१५ मा दयनिय अवस्थामा पुगेका कम्युनिस्ट पार्टी २०२० मा आउँदा सुदृढ हुँदै गएको देखिएको छ । चुनावी नतिजापछि कम्युनिस्ट पार्टीका नेताहरुले बिहारमा अवस्था सुदृढ हुँदै गएको बताएका छन् । चुनावी नतिजाले कम्युनिष्ट पार्टीका नेताहरु उत्साहित देखिएका छन् ।

यसअघि सन् २०१० मा कम्युनिष्ट पार्टी अफ इन्डिया (सिपिआई) ले एक सिट जितेको थियो भने सन् २०१५ को निर्वाचनमा कम्युनिष्ट पार्टी अफ इन्डिया–एम–एल(लिवरेसन) ले तीन सिट जितेको थियो । अन्य दुई वामपन्थी दलले एक सिट पनि जितेका थिएनन् । यस अगाडिको विधानसभा निर्वाचनमा कम्युनिष्ट पार्टीले जम्मा ३ सिट जितेको थियो ।

कम्युनिस्ट विरोधी राज्य व्यवस्थाका कारण जनताबीच आफ्ना एजेण्डा लिन नसक्ने अवस्था भारतमा छ । सरकारले कम्युनिस्ट नेता कार्यकर्ताविरुद्ध विभिन्न मुद्दा लगाउने र जनतालाई त्रसित पार्ने जस्ता कारणले भारतमा कम्युनिस्टप्रति सोँचेजस्तो सफलता पाउन सकेका छैनन् ।

त्यसैगरी कम्युनिस्ट पार्टीले पनि भारतको बस्तुगत अवस्थाको मूल्यांकन गर्न कसक्नु, सोहीअनुसार कार्यक्रम जनताबीच लिन नसक्नु र आधारभूत वर्गको पहिचानमा कम्युनिस्ट पार्टीका पनि समस्या रहेका छन् । जनयुद्ध लडिरहेका भारतीय माओवादीको पनि अवस्था सुदृढ हुँदै गएको छ ।

बिहार विधानसभा चुनावमा फेरि एनडीएलाई सरकार बनाउने भएको छ । विधानसभाका २४३ सिटका लागि निर्वाचन भएको थियो। बिहारमा सरकार बनाउनको लागि १२२ सिटको बहुमत आवश्यक हुन्छ। एनडीएले १२५ सिटमा विजय हाँसिल गरेको छ। एनडीएलाई टक्कर दिने महागठवन्धन बहुमत भन्दा थोरै पछि छ। महागठवन्धनले ११० सिट ल्याएको छ। जेडीयूले ४३ सिट प्राप्त गरेको छ।

सांसद असदुद्दीन ओवैसीको पार्टी अल इन्डिया मजलिस-ए-इत्तेहादुल मुस्लमीनले पाँच सिट हाँसिल गरेको छ। बहुजन समाज पार्टीले एक सिट ल्याएको छ।

जेडीयूको विरोध गर्दै एक्लै चुनावी मैदानमा उत्रिएको चिराग पासपानको लोक जनशक्ति पार्टीले एक सिट ल्याएको छ। एक सिटलाई निर्दलीयको रुपमा लिने गरिन्छ।

महागठबन्धनको अगुवाई गर्ने राष्ट्रिय जनता दल (आरजेडी) ७५ सिटका साथ सबैभन्दा ठूलो पार्टी बनेको छ। भारतीय जनता पार्टी (बीजेपी) ७४ सिटका साथ दोस्रो ठूलो पार्टी बनेको छ। २०१५ मा आरजेडीले ८० र बीजेपीले ५३ सिट ल्याएका थिए।

बीजेपी र अन्य सहयोगी दलको राम्रो नतिजाका कारण एनडीएले बहुमत प्राप्त गरे पनि मुख्यमन्त्री नीतीश कुमारको पार्टी जेडीयूको प्रदर्शन उत्सिहत गर्ने खालको रहेन। २०१५ मा ७१ सिट जितेको जेडीयूले यो पटक ४३ सिट मात्र हासिल गर्यो। २०१५ मा २७ सिट ल्याएको कांग्रेस यो पटक १९ सिटमा सिमित भयो।

एनडीएमा जेडीयू, बीजेपी, हिन्दुस्तानी अवाम मोर्चा (हम) र विकासशील इन्सान पार्टी (वीआईपी) रहेका छन्। महागठवन्धनमा आरजेडी, कांग्रेस र तीन बामपन्थी पार्टी कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई), कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) अर्थात सीपीएम र कम्युनिस्ट पार्टी अफ इन्डिया लेनिनवादी (लिबरेशन) छन्।

प्रतिकृया दिनुहोस्