News Portal

काठमाडौं उपत्यकाका मेयरको मागः तिहार-छठमा कडा निषेधाज्ञा

डबली संवाददाता२०७७ कात्तिक २७ गते
१०७ पटक

काठमाडौं । तिहार र छठमा काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा जारी गर्न मेयरहरुले माग गरेका छन् । उपत्यका मेयर फोरमले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ ।

बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले तिहार र छठमा कोरोना भाइरस थप फैलिन सक्ने भन्दै कडा निषेधाज्ञा गर्नुपर्ने बताएका थिए । काठमाडौं उपत्यकामा बढ्दो सङ्क्रमणकाे दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए ।

उपत्यकामा बढिरहेको सङ्क्रमण दर नियन्त्रणका लागि तिहार, छठ लगत्तै निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको श्रेष्ठले बताए । उपत्यकामा बढिरहेको सङ्क्रमणलाई नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता भएको भन्दै मेयर फोरमले सीसीएमसीका पदाधिकारीले अर्को बैठकमा कस्तो मोडालिटीमा जाने भन्ने छलफल गरी प्रस्ताव गर्ने बताएको छ ।

सीसीएमसीका पदाधिकारीहरुसँगको छलफलमा कोभिडबाट उत्पन्न समस्या समाधानका विषयमा पनि छलफल भएको थियो ।  महामारी नियन्त्रणका लागि पालिका र सङ्घीय सरकारबीच समन्वय हुन नसक्दा समस्या झन् बल्झिने खतरा रहेकाले नियन्त्रणका लागि एकीकृत रुपमा पहल गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्