News Portal

कोरोनाका कारण रुपन्देही र चितवनमा गरी थप ३ जनाको ज्यान गयो

डबली संवाददाता२०७७ कात्तिक १४ गते
११९ पटक

काठमाडौं । कोरोनाका कारण रुपन्देहीका २ र चितवनका एक गरी थप तीन जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–८का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा शुक्रबार निधन भएको छ ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार ती पुरुषलाई कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या भएका कारण कात्तिक १ गते नै अस्पताल भर्ना गरिएको गौतमले बताए ।

उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे निधन भएको अस्पतालले जनाएको छ । संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगी रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको ज्यान गएको छ । रुपन्देहीका एक र चितनवका एक जना गरी दुई जनाको निधन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीका अनुसार चितवनको रत्ननगरपालिका वडा नम्बर ९ का ८८ वर्षीय पुरुषको आज बिहान ६ बजेर ५४ मिनेट जांँदा निधन भएको हो । उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित उनी कात्तिक ११ गते अस्पतालमा भर्ना भएका थिए । उनको स्वाव परीक्षण गर्दा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अस्पतालको कोभिड आईसियु कक्षमा उपचार भइरहेको थियो ।

यसैगरी रुपन्देहीको जिल्ला वुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ८४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण ज्यान गएको छ । कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका उनको गएराति ११ बजेर ४७ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

उनीमा ज्वरो, उच्चरक्तचाप र श्वास प्रश्वासको समस्यालगायतका लक्षण थियो । कोभिड आइसियु कक्षमा राखेर उपचार गरिएमा स्वास्थ्यमा सुधार हुन नसकेको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्