News Portal

नेपाललाई २ करोड ५० लाख डोज कोरोना खोप दिन रुस तयार, भारतीय कम्पनीसँग सम्झौता

डबली संवाददाता२०७७ असोज १४ गते
१६५ पटक

काठमाडौं । रुसले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप ठूलो मात्रामा उपलब्ध गराउने भएको छ । रुसले नेपाललाई २ करोड ५० लाख डोज खोप उपलब्ध गराउन भारतीय कम्पनीसँग सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले खुलासा गरेको छ ।

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्ड र नेपालको औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुतनिक–५’ नेपाल ल्याउने सम्झौता भएको, स्वयं फण्डले पनि जनाएको छ ।

फन्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरिल डिमिट्रेभले ट्रिनिटीसँग भएको सम्झौताबाट नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्ने गरी भ्याक्सिन उपलब्ध गराउने बताए । खोप लिन भारतीय ट्रिनिटी कम्पनीले सम्झौता गरिसकेको बताउँदै किरिलले धन्यवाद समेत दिएका छन् ।

ट्रिनिटीका किशोर अधिकारीले रसियन फन्डसँग सम्झौता गरेको भारतीय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् । उनले यो सम्झौता गर्न पाएकोमा खुशी ब्यक्त गरेका छन् । स्पुतनिक परीक्षणको अन्तिम नतिजालाई पर्खेर बसेको बताउँदै अधिकारीले चाँडोभन्दा चाँडो नेपाल सरकारले नेपाली जनताको लगि खोप ल्याउन अनुमति दिनेछ विश्वास समेत व्यक्त गरे ।

यता, स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले अहिलेसम्म खोप ल्याउन कसैले प्रस्ताव नै नगरेको बताएका छन् । उनले ५ विज्ञ सम्मिलित समितिको सिफारिस पछि मात्र खोप ल्याउन अनुमति प्राप्त हुने जानकारी पनि दिए । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले पनि यस विषयमा आफूहरुलाई जानकारी नभएको बताएका छन् ।

सन् १९४१ मा स्थापना भई केरलाको त्रिसुरमा मुख्यालय रहेको यो कम्पनीले नेपाली बजारमा पनि औषधि बिक्री गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

रुसले एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोप र सीआईएसका ५० भन्दा बढी मुलुकले ‘स्पुतनिक भी’ को माग गरेकोसमेत जनाएको छ ।
आरडीआईएफले यसअघि मेक्सिकोसँग ३२ मिलियन डोज, ब्राजिलसँग ५० मिलियन, भारतसँग १०० मिलियन र उज्बेकिस्तानसँग ३५ मिलियन डोज खोपका लागि सम्झौता भइसकेको जनाएको छ ।

११ अगस्टमा, जामिलिया नेशनल रिसर्च इन्स्टिच्युट इपिडिमियोलोजी र माइक्रोबायोलोजीद्वारा विकसित ‘स्पुतनिक भी’ खोप रुसको स्वास्थ्य मन्त्रालयमा दर्ता गरेको थियो ।मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोभिड–१९ विरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप हो ।
सेप्टेम्बर ४ मा ‘स्पुतनिक भी’ पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणको नतिजा बारेमा ल्यान्सेट जर्नलमा प्रकाशित गरिएको थियो ।

नेपाल सरकारको ढिलाईले गर्दा कोरोना खोप नेपाली कम्पनी पछि पर्ने देखिएको छ । नेपालमा अन्य देशका कम्पनीले कोरोना खोप ल्याउन सम्झौता गर्दा समेत सरकारलाई जानकारी हुँदैन ।

प्रतिकृया दिनुहोस्