
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालले सामाजिक संजाल फेसबुकमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् ।
ढकालका अनुसार आइतबार गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो । ढकालले आफुलाई कुनै लक्षण नदेखिएको पनि जानकारी दिएका छन् ।
आफूलाई कोरोना पोजेटिभ भएको जानकारी गराउँदै ढकालले लेखेका छन्-‘जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ ।’
आफूलाई स्वास्थ्यमा कुनै समस्या नरहेको जानकारी दिँदै महासंघका उपाध्यक्ष ढकालले सामान्य अवस्थामै घरमै आइसोलेसनमा बसेको बताएका छन् । केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन ढकालले आग्रह गरेका छन् ।
ढकाललाई कोरोना पोजेटिभ देखिएसँगै आइएमई ग्रुपका कर्मचारी महासंघमा आवद्ध व्यवसायीहरु सशंकित भएको बताइएको छ । ग्रुपले संचालन गरेको चन्द्रगिरी केवलकारदेखि आइएमईमा काम गर्ने कर्मचारीले आफूहरुको पनि परीक्षण गराउन माग गरेको बताइएको छ ।
