News Portal

आज तीनवटा प्रदेशमा भारी बर्षा हुने, सतर्क रहन आग्रह

डबली संवाददाता२०७७ असोज ७ गते
९४ पटक

काठमाडौँ । आज देशभरको मौसम पूर्णरुपमा बदली हुनुको साथै धेरै स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा भइरहेको छ ।

भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र पश्चिम तथा उत्तरपश्चिम सरिरहेको छ । यसको प्रभावका कारण नेपालमा मौसम प्रभाव पारेको हो । महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नम्बर १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा भारी वर्षा हुने महाशाखाले अनुमान गरेको छ । ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

त्यसैगरी बिहीबार र शुक्रबार पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा पूर्णतया बदली रही बाँकी प्रदेशहरुमा सामान्य बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबारदेखि देशका अधिकांश स्थानमा बर्षा भइरहेको छ । रातिदेखि निरन्तर रुपमा वर्षा भइरहेको छ । वर्षाका कारण जनजीवन प्रभावित भएको छ । धेरै ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएका छन् ।

वर्षासँगै बाढी पहिरोको जोखिम बढेको छ । यो वर्ष सिन्धुपाल्चोक, पमाल्पा, कालिकोट, बझाङमा पहिरोले ठूलो जनधनको क्षति भएको छ ।

प्रतिकृया दिनुहोस्