News Portal

कोरोनाका कारण काठमाडौँमा ९२ जनाको ज्यान गयो, संक्रमितको संख्या १४ हजार बढी

डबली संवाददाता२०७७ असोज २ गते
८३ पटक

काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट काठमाडौं उपत्यकामा ज्यान गुमाउनेको संख्या बढिरहेको छ । विहीबारसम्म आइपुग्दा काठमाडौँमा उपत्यकामा मात्रै ९२ जनाले ज्यान गुमाएका छन् ।

देशका विभिन्न जिल्लामा कोरोना संक्रमण घटिरहेको बेला काठमाडौँमा भने दिनदिनै संक्रमितको संख्या बढिरहेको छ । संक्रमण फैलिन नदिन भन्दै निषेधाज्ञा जारी गरिएको बेला सबैभन्दा धेरैमा संक्रमण देखियो ।

पछिल्ला केही हप्तायता काठमाडौँ उपत्यकामा दैनिकजसो मृतक थपिएका छन् । विहीबार देशभर चारजनाको ज्यान जाँदा काठमाडौँका एकजना थिए । तर, ललितपुरमा ज्यान गुमाएकी एक महिलाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि भने गरेको छैन ।

मन्त्रालयले विहीबार ४ जनाको ज्यान गएको जानकारी दिएको थियो । साँझसम्म थप दुई जनाको ज्यान गएको थियो । योसँगै विहीबारसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३८५ पुगेको थियो । शुक्रबार विहान कोरोना संक्रमितको ज्यान गएको जानकारी सार्वजनिक भएको छैन ।
काठमाडौं उपत्यकामा कोरोनाबाट ज्यान गुमाउनेको दर २४ प्रतिशत रहेको छ । यो भनेको निकै जोखिमयुक्त हो । विहीबार रातिसम्म काठमाडौंमा ६९, भक्तपुरमा १३ र ललितपुरमा १० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

त्यसैगरी उपत्यकामा संक्रमितको संख्या १४ हजार बढी छ । काठमाडौंमा ११ हजार ८३६, भक्तपुरमा १ हजार १८६ र ललितपुरमा १ हजार ३४७ जना संक्रमित छन् । संक्रमितमध्ये धेरैजना होम आइसोलेसनमा छन् ।

विहीबार उपत्यकामा ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जबकी बुधबार अहिलेसम्मकै धेरै ७३९ जनामा संक्रमण देखिएको थियो ।
उपत्यकामा कोरोना समुदायमा पुगेको छ । सरकारले विना परीक्षण काठमाडौँ प्रवेश गर्न खुला गरेको छ । काठमाडौँ भित्रने र बाहिरिन कुनै रोकतोक छैन । उपत्यकाभित्र सवारी साधनमा जोरबिजोर प्रणाली लागि गरिएपनि भित्रिने र बाहिरिनेलाई लागु छैन ।

कोरोना संक्रमण नियन्त्रण गर्न तीन सातासम्म निषेधाज्ञा गर्दा पनि कुनै प्रभाव नपरेपछि विस्तारै खुकुलो बनाइएको छ । विहीबारबाट सबै व्यापार व्यवसाय खुला गरिएको छ ।

प्रतिकृया दिनुहोस्