News Portal

आजबाट लामो दुरीका सार्वजनिक यातायात संचलान तर आन्तरिक हवाई सेवा भने बन्द नै

डबली संवाददाता२०७७ असोज १ गते
६८ पटक

काठमाडौँ । आजबाट लामो दुरीका सार्वजनिक यातायातका साधन चलेका छन् । कोरोनाका कारण ६ महिनादेखि बन्द रहेका अन्तरजिल्ला अर्थात लामो दुरीका सवारी साधन आजबाट पुनः संचालन सुरु भएका छन् । सरकारले अनुमति दिएसँगै देशभर आजबाट लामो दुरीका सवारी साधन चल्ने भएका हुन् ।

मन्त्रिपरिषद् बैठकले लामो दुरी तथा अन्तरजिल्ला यातायात सञ्चालन गर्न सरकारले अनुमति दिएसँगै बुधबार नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टे«ड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने जानकारी दिएका थिए ।

गाडीमा आधा सिटमा मात्रै यात्रु राख्न पाइनेछ भने उभ्याउने पाइनैछ । त्यो वापत सरकारले ५० प्रतिशतसम्म भाडा बढाउन अनुमति दिइसकेको छ । सरकारले ५० प्रतिशितसम्म भाडा बढाउन अनुमति दिएपनि व्यवसायीहरुले सतप्रतिशतसम्म भाडा असुल्न सक्ने चिन्ता सर्वसाधारणले गरेका छन् ।

त्यसैगरी यात्रा गर्दा चालक, सहचालक र यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्नेछ । त्यस्तै, यात्रु गाडी चढ्नुअघि सेनिटाइजर व्यवस्था गर्नुपर्ने छ ।

लामो दुरीका सार्वजनिक यातायात संचलान भएपनि आन्तरिक उडान भने खुलेनन् । वायुसेवा सञ्चालक संघले तत्काल उडान सञ्चालन नगर्ने बताएको छ । उसले ५० प्रतिशत यात्रु बोकेर उडान भर्न नसकिने बताएको छ ।

संघको प्रथम उपाध्यक्ष अनाज रिमालले बुधबार नै एक विज्ञप्ति जारी गरेर सरकारले भनेअनुसारै उडान सञ्चालन गर्न नसक्ने बताए । उनले भारतलगायत अन्य मुलुकमा आन्तरिक उडानमा सामाजिक दुरी कायम गरी ५० प्रतिशत मात्र यात्रु बोक्ने व्यवस्था नरहेको बताए । हवाई उडानमा ५० प्रतिशत यात्रु बोक्दा भाडा दोब्बर पर्ने बताइएको छ ।

सरकारको निर्णयअनुसार नै उडान सञ्चलन गर्दा हवाइ उद्योग नै धरासयी बन्ने भएकाले पूर्ण क्षमतामा यात्रु बोक्ने व्यवस्था मिलाउन संघले आग्रह समेत गरेको छ । औपचारिक रुपमा हवाई सेवा सुचारु नभएपनि निजि कम्पनीहरुले चाटर्ड गरेर विभिन्न जिल्लाहरुमा उडान भर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्