News Portal

नेपाल बैंक लिमिटेड र लिसंखु पाखर गाउँपालिकाबीच यस्तो भयो सम्झौता, गाउँमै सहुलियतमा ब्जयमा कर्जा

डबली संवाददाता२०७७ भदौ ३१ गते
८८ पटक

काठमाडौं । नेपाल बैंक लिमिटेड र लिसंखु पाखर गाउँपालिकाबीच अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको छ । सिन्धुपाल्चोकस्थित सो गाउँपालिका र नेपालको पहिलो बैंकको रुपमा रहेको नेपाल बैंक लिमिटेडबीच मंगलबार एक कार्यक्रममा सम्झौतामा हस्ताक्षर भएको छ ।

गाउँपालिकाले संचालन गर्न लागेको “अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रम” ले गाउँपालिकाबासीहरुलाई व्यवसायिक कृषि, तथा पशुपंछीमा आधारित उद्यम व्यवसाय, वन (जडिबुटी, वनपैदावार) मा आधारित उद्यम व्यवसाय, पर्यटन प्रबर्दधनमा आधारित उद्यम व्यवसाय, उत्पादनमूलक उद्यम व्यवसाय, निर्माणमा आधारित उद्यम व्यवसाय, सेवामुलक उद्यम व्यवसाय लगायतका कार्यमा बैंकले सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने सम्झौता भएको छ ।

त्यसैगरी पहिचान गरिएका क्षेत्रहरुमा बैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँपालिकामै रहेका बेरोजगार नागरिकहरुलाई उद्यम व्यवसायमा आकर्षित गर्न, गाउँपालिकाबासीहरुलाई स्वरोजगार, व्यावसायीक एबं उद्यमी बनाउन, आवश्यक दक्ष जनशक्ति तयार गर्न, तथा उद्यमशीलता विकासका लागि आवश्यक सहयोग प्रदानगरी गाउँपालिकाको बिषेशतामा आधारित लघु, घरेलु, साना एबं मझौला व्यवसायहरुको बिकास एबं प्रबर्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

उक्त गाउँपालिका क्षेत्रका अध्यक्ष उद्यमशिलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशिल बन्न चाहने गाउँबासी एवं सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागि ब्याज अनुदान कार्यविधि २०७७ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सिप र व्यवसायिक दक्षता उपयोगगर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी व्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदानगरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले लिसंखु पाखर गाउँपालिका र नेपाल बैँक लिमिटेड बीच उक्त सम्झौता भएको हो ।

गाउँपालिकाद्वारा एक कोष खडागरी नेपाल बैंक लिमेटेड पाँचखाल शाखामा ग्यारेण्टीको रुपमा रकम जम्मा गर्दै जाने, बैंकद्वारा छनौट भएका उद्यमी एवं व्यावसायीहरुलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने र उक्त कर्जा समयमा चुक्ता गराउन गाउँपालिकाद्वारा सहयोग गर्नेछ । उपरोक्त सम्झौतामा नेपाल वैंक लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी  र गाउँपालिकाको तर्फबाट अध्यक्ष कमलप्रसाद नेपालले हस्ताक्षर गरिएका छ्न् ।

उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष हेमगंगा मोक्तान, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल, नेपाल बैंक लिमिटेडका नि. नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका बाग्मती प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थी, पाँचखाल शाखाका शाखा प्रबन्धक मुरारी कोईरालालगायतको उपस्थिति रहेको बैठकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिएका छन् ।

नेपालकै फ्ल्यागशिप बैंकको रुपमा रहेको बैंकले १८९ वटा शाखाहरु, १२५ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टरमार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ र चालु आर्थिक बर्षभित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडि बढाईरहेको बैठकले जनाएको छ  ।

प्रतिकृया दिनुहोस्