News Portal

कोरोनाका कारण भारतीय पूर्वराष्ट्रपति मुखर्जीको निधन, पत्रकार हुँदै राष्ट्रपतिसम्म

डबली संवाददाता२०७७ भदौ १५ गते
१५५ पटक

काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । कोरोना संक्रमण पुष्टि पछि अस्पतालमा उपचारको क्रममा सोमबार मुखर्जीको निधन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

मुखर्जीको निधन भएको पूर्व सांसद तथा छोरा अभिजीत मुखर्जीले सोमवार साँझ उनको निधन भएको सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिएका छन् । भारतको राजनीतिमा महत्वपूर्ण भूमिका रहेका मुखर्जी भारतको अर्थ, रक्षा र परराष्ट्र मन्त्री हुँदै राष्ट्रपति भएका थिए ।

मुखर्जीको हालै सेनाको आर एण्ड आर अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरेका थिए । उपचारमै रहेको बेला उनमा कोरोना भाइरस संक्रमण भएको थियो । मुखर्जीको ट्वीटरको अकाउण्टबाट अगस्ट १० मा कोरोना भाइरस संक्रमण जानकारी दिइएको थियो ।

यसैबीच भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहले सामाजिक संजालमार्फत मुखर्जीप्रति समवेदन प्रकट गरेका छन् ।

मुखर्जी भारतीय काँग्रेसका चर्चित नेता समेत हुन् । उनीसन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति रहेका थिए । पत्रकारिताबाट राजनीति सुरु गरेका मुखर्जीलाई अर्थविद्का रुपमा पनि लिइन्छ । उनले भारतको लोकसभाको सभामुख र दर्जनौं सरकारी समितिहरूका अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

कोरोना संक्रमण पुष्टि भएसँगै स्वास्थ्य अवस्थामा नाजुक भएको थियो । त्यसपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । मुखर्जीले इन्दिरा गान्धीबाट राजनीतिक प्रशिक्षिण लिएका थिए ।

मुखर्जीको जन्म सन् १९३५ को डिसेम्बरमा पश्चिम बङ्गालमा रहेको मिराटी गाउँको एउटा सामान्य परिवारमा भएको थियो । उनका पिता कङ्ग्रेस पार्टीका नेता र स्वतन्त्रता सेनानी थिए ।

यसैबीच भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या आधा लाख भन्दा बढी पुगेको छ । भारतीय संचारमाध्यमहरुका अनसार सोमबारसम्म ६५ हजारले ज्यान गुमाएका छन् । त्यसैगरी भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख ४२ हजार पुगेको छ । जसमध्ये २७ लाख ९१ हजारले कोरोना जितेर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्