News Portal

उपत्यकासहित देशभर थप ८९९ जनामा कोरोना संक्रमण, मृतकको संख्या २२८ पुग्यो

डबली संवाददाता२०७७ भदौ १५ गते
१८६ पटक

काठमाडौँ । कोराना भाइरस संक्रमणबाट नेपालमा थप ८९९ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँ उपत्यकासहिदत सोमबार देशभर थप ८९९ जनामा संक्रमण भएको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८९९ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको जानकारी दिए । योसँगै संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

त्यसैगरी आज देशभर थप ७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको स‌ख्या २२८ पुगेको छ । यसैबीच रुपन्देहीमा कोरोना संक्रमित महिलाको ज्यान गएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ की ६८ वर्षीया महिलाको निधन भएको हो । कोराना संक्रमणपछि होम आइसोलेसन बसेकी उनको निधन भएको प्रहरीले बताएको छ ।

भदौ ११ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटैमा निधन भएको प्रहरीले जनाएको छ ।

देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तर, कोरोना संक्रमण झनझन फैलिरहेको छ । दिनदिनै कोरोना संक्रमितको संख्या बढिरहेको छ । जसम्म १७ हजार ८ सय २२ पुगेको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उनी श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । उचारका क्रममा आज बिहान उनको निधन भएको अस्पतालले जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नं ६ केदरबाग निवासी ८७ वर्षीय उनमा भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । उनी ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनको सदस्य थिए । कम्युनिष्ट नेता एवं उनका समकालीन विष्णु घिमिरेका अनुसार चापागाई विसं २०२५ मा गठित ननसेन्टरबाट राजनीतिमा आबद्ध भएका थिए ।

प्रतिकृया दिनुहोस्