News Portal

काठमाडौँमा अहिलेसम्मकै धेरै ४२९ सहित थप १२२१ जनामा कोरोना, मृतकको संख्या २२१ पुग्यो

डबली संवाददाता२०७७ भदौ १४ गते
१०६ पटक

काठमाडौँ । नेपालमा कोरोनाभाइरसबाट काठमाडौं उपत्यकामा ४२९ सहित थप १ हजार २ सय २१ जनामा कोरोना संक्रण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३४८ महिला र ८७३ पुरुष गरी जम्मा १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

त्यसैगरी आइतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ । जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप २६७ जनाले जितेर घर फर्किएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या २० हजार ८२२ पुगेको छ ।

यसैगरी कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको ज्यान गएको छ । मन्त्रालयका प्रवक्ता गौतमले ४ महिला र १० पुरुषसहित १४ जनाको निधन भएको जानकारी दिए ।

गौतमका अनुसार महोत्तरी र रुपन्देहीका २–२, सुनसरी, बारा, महोत्तरी, काठमाडौंका, सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२१ जना पुगेको छ ।

यसैबीच केन्द्रीय कारागार, सुन्धाराका ५० जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार थप ३५ जनामा कोरोना संक्रमित भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । कारागारभित्र रहेको अस्पतालमा उपचाररत एकजनालाई कोरोना देखिएपछि १७५ जना कैदीबन्दीको स्वाब लिएर परीक्षणका लागि पठाइएको थियो ।

संक्रमितलाई उपचारका लागि गंगालाल, ट्रमा, त्रिवि शिक्षण अस्पताल लगायतमा लैजाने गरेको उल्लेख गर्दै त्यहीँबाट संक्रमण फैलएको हुनसक्ने बताए ।

प्रतिकृया दिनुहोस्