News Portal

हाम्रो देश र जनता कोरोनाबाट सुरक्षित छन्ः किम जोङ

डबली संवाददाता२०७७ भदौ १२ गते
१८१ पटक

काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किमजोङ उनले आफ्नो देश र जनता कोरोनाभाइरसको संक्रमणबाट सुरक्षित रहेको बताएका छन् । वर्कस पार्टीको तेस्रो सम्मेलनमा सहभागी नेताहरुलाई सम्बोधन गर्दै नेता उनले अहिलेसम्म आफ्नो देश कोरोनामुक्त रहेको जानकारी गराउँदै संक्रमण रोक्न तयारीमा रहन निर्देशन दिए ।

नेता किमजोङले कोरोना भाइरसको सम्भावित खतरालाई रोक्न र नियन्त्रण गर्न सरकारले सबै तयारी गरेको बताएको सरकारी संचारमाध्यलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् । यसमा सबै नागरिक सतर्क रहन समेत उनले अपील गरे ।
त्यसैगरी सम्मेलनलाई सम्बोधन गर्दै नेता उनले सम्भावित कोरोनाको खतरासँग जुध्न सबै तह–क्षेत्रमा पार्टी र सरकारको तर्फबाट विभिन्न संयन्त्रहरु बनाउन नेताहरुलाई निर्देशन समेत दिएका थिए ।

पश्चिमा संचारमाध्यमहरुले किमजोङ गम्भीर बिरामी भइरहेको झुटो समाचार सम्प्रेशण गरिरहेको बेला वर्कस पार्टीको दुर्लभै हुने सम्मेलन चलिरहेको थियो । पार्टीको सम्मेलनलाई प्रभावित बनाउन झुटो प्रचार गरिएको उत्तर कोरियाले बताएको छ ।

छिमेकी दक्षिण कोरियामा कोरोनाको दोस्रो छल आएर निषेधाज्ञा जारी गरिएको भएपनि उत्तर भने अहिलेसम्म कोरोनामुक्त नै रहन सफल भएको छ । यसअघि उत्तरबाट भागेर दक्षिण कोरियाका गएका एक नागरिक फर्किदा कोरोना भित्रिएको हुन सक्ने भन्दै उत्त सतर्कता अपनाइएको थियो ।

यसैबीच कोरोना संक्रमणबाट विश्वमा २ करोड ४६ लाख २५ हजार १४९ जना संक्रमित भएका छन् । जसमध्ये ८ लाख ३५ हजार ६२७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वमा १ करोड ७० लाख ९३ जहार २८८ जनाले कोरोनासँग जितेर घर फर्किएका छन् । जसमा नेपालका २० हजार पनि छन् ।

अहिलेसम्म पनि सबैभन्दा बढी अमेरिकामै संक्रमित र ज्यान गुमाउनेको संख्या बढी छ । शुक्रबार विहानसम्म अमेरिकामा ६० लाख ४६ हजार ६३४ जना संक्रमित भएका छन् । जसमा १ लाख ८४ हजार भन्दा बढीको ज्यान गएको छ भने ३३ लाख ४७ हजार बढीले कोरोना जितेर फर्किएका छन् ।

दोस्रोमा रहेको ब्राजिलमा ३७ लाख ६४ हजार ४९३ जना संक्रमित भएका छन् । जसमा १ लाख १८ हजार ८ जनाले ज्यान गुमाएका छन् । ब्राजिलमा २९ लाख ४७ हजार बढीले कोरोना जितेका छन् ।

त्यसैगरी नेपालको छिमेकी भारत कोरोना संक्रमितको तेस्रो नम्बरबाट तल झर्न सकेको छैन । अहिलेसमम् भारतमा करिब ३४ लाख संक्रमितको संख्या पुगेको छ भने ६१ हजार ७ को ज्यान गएको छ ।

  • फाइल फोटो
प्रतिकृया दिनुहोस्