News Portal

भदौ १५ गतेसम्म उपत्यकामा निषेधाज्ञा बढाउन प्रस्ताव

डबली संवाददाता२०७७ भदौ ८ गते
१९२ पटक

काठमाडौँ । कोरोना भाइरस नियन्त्रणको लागि उपत्यकामा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म बढ्ने भएको छ । उपत्यका नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकले निषेधाज्ञा भदौ १५ गतेसम्म थप गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले निषेधाज्ञाको अवधि थप गर्न उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई सुझावसहित प्रस्ताव गर्ने निर्णय गरेको काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । निषेधाज्ञालाई थप गर्न प्रजिअलाई सुझाव दिँदै फोरमले पीसीआर परीक्षणलाइ बढाएर संक्रमणको स्थितिलाई नियन्त्रणमा लिन निर्णय गरेको छ ।

भदौ ४ गते एक हप्ताको लागि भन्दै उपत्यकामा निषेधाज्ञा जारी गरिएको भएपनि कोरोना संक्रमण बढ्दै गएपछि अवधि थप गर्नुपर्ने फोरमले निर्णय गरेको बताइएको छ । जारी निषेधाज्ञा १० गते राति १२ सकिने लागेको थियो ।

निषेधाज्ञाको अवस्थामा उपत्यका बाहिरबाट कोही नआएको बताउँदै मेयर शाक्यले कोरोना केही दिनमा नियन्त्रणमा आउने बताए ।
त्यसैगरी बैठकले उपत्यकाका स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय भएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा कोरोना समुदायमा पुगेको छ ।

यसैबीच सोमबार त्यसक्रममा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार दिउँसोसम्म काठमाडौमा १७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै सोमबार देशभरमा २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस संक्रमण भएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । उनीहरुमध्ये १८ हजार ८०६ जना निको भएका सलछन् । पछिल्लो २४ घण्टामा मात्र १७५ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा १० हजार २३४ नमुना परीक्षण गरिएको थियो ।

संक्रमित हुनेका बाराका ९४ जना, कैलालीका ७९, पर्साका ३४, चितवनका ३२, मोरङका ३१, सुनसरीका २३, जाजरकोट र कञ्चनपुरका १९/१९ जना, मकवानपुर र रुकुम पश्चिमका १८/१८ जना, सप्तरीका १५, सुर्खेतका ११, सिराहाका १० र कपिलवस्तुका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाही र बाँकेका ८/८ जना, रुपन्देहीका ६, झापा, धनुषा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, नवलपुर र नवलपरासीका ५/५ जना, खोटाङ, गुल्मी र डडेलधुराका ४/४ जना, ओखलढुंगा, तनहुँ, कालीकोट र बैतडीका ३/३ र धनकुटा, संखुवासभा, धादिङ, रामेछाप, कास्की, बाग्लुङ, पाल्पा र रोल्पाका २/२ मा संक्रमण देखिएको छ ।

यस्तै इलाम, उदयपुर, दोलखा, गोरखा, म्याग्दी, स्याङ्जा, अर्घाखाँची, बर्दिया, दार्चुला र बाजुरामा एकएक संक्रमित थपिएका छन् ।

प्रतिकृया दिनुहोस्