News Portal

आज हरितालिका तीजः घरमै बसेर मनाइँदै

डबली संवाददाता२०७७ भदौ ५ गते
२६० पटक

काठमाडौं । आज हरितालिका तीज । हिन्दु महिलाहरु भाद्र शुक्ल तृतीयाका दिनमा देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदै आएका छन् । त्यस्तै, तीजको अबसरमा आज विशेष कार्यक्रमका आयोजना गरि नाचगान गरेर रमाईलो गर्ने गरिन्छ ।

तर, यो वर्ष भने कोरोना भाइरसका कारण सार्वजनिक कुनै कार्यक्रम गर्न नपाइने भएको छ । महिलाहरुले जम्मा भएर नाचगानलगायतका तीज सम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाइने भएपछि घरमै बसेर तीज मनाइँदैछ ।

कोरोना संक्रमणका कारण काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्र र जिल्लाहरुमा लकडाउन तथा निषेधाज्ञा जारी गरिएको छ । त्यसैले तीजसँग सम्बन्धीत कुनै कार्यक्रम गर्न नपाइने भएपनि घरमै बसेर स्वास्थ्य नियम पालना गर्दै मनाउन सरकारले आग्रह गरेको छ ।
अघिल्ला वर्षहरुमा तीजको अबसरमा कलाकारहरुबीच नयाँनयाँ गीतहरु बजारमा ल्याउने होडबाजी नै चल्थ्यो । तर, यसपटक भने फाट्टफुट्ट मात्रै तीज बजारमा आएका छन् ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

तीजको अबसरमा विवाहित महिलाहरुले पतिको दिर्घायू र अविवाहित महिलाले सुयोग्य वर पाइन्छ भन्ने विश्वासका साथ आजको दिन निराहार ब्रत बसेर कामना गर्ने चलन छ । व्रत गर्ने नारीले अटल सौभाग्य प्राप्त गर्ने जनविश्वाश रहेको छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले तपस्या गरेर श्रीमहादेव पति पाउने बरदान पाएको विश्वासमा तीजमा ब्रत बस्ने गरिन्छ ।

तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्दै आएको थियो । तर कोरोना संक्रमणसँगै चैत्र ११ गतेबाट पशुपतिनाथ मन्दिर बन्द गरिएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले एक सन्देश दिँदै कोरोना संक्रमण बढिरहेको बताउँदै स्वास्थ्य नियम पालना गरी तीज मनाउन आग्रह गरेकी छन् ।

प्रतिकृया दिनुहोस्