News Portal

कोरोना संक्रमणबाट नेपाली काँग्रेसका उपसभापतिको ज्यान गयो

डबली संवाददाता२०७७ भदौ २ गते
११० पटक

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट नेपाली काँग्रेसका जिल्ला उपसभापतिको ज्यान गएको छ । नेपाली काँग्रेसका नवलपरासी सुस्ता पश्चिमका सभापति शुभाषचन्द्र गिरीको उपचारको क्रममा मंगलबार विहान ज्यान गएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि गिरीको साउन ३० गतेदेखि ललितपुरस्थित पाटन अस्पतालमा उपचार सुरु गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि एम्बुलेन्स र हेलिकोप्टर नपाउँदा गिरीलाई समयमै उपचार ल्याउन सकिएको थिएन ।

काँग्रेसका युवा नेता समेत रहेका ३९ वर्षीय गिरी दुई हप्ता अघिमात्रै पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गरिएको थियो । भैरहवा मेडिकल कलेजमा शल्यक्रिया गरेर घर फर्केका गिरीलाई एक हप्ता पहिले कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना अस्पताल बुटवलमा उपचार सुरु गरिएको थियो । तर, थप उपचार आवश्यक भएपछि एम्बुलेन्स नपाएर समयमै काठमाडौँ ल्याउन नसकिएको परिवारले जनाएका छन् ।

स्वास्थ्यमा सुधार हुन नसकेपछि सोमबार गिरीलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । अस्पतालका अनुसार मंगलबार विहान गिरीको निधन भएको थियो ।

नेता गिरी विजयकुमार गच्छेदारसँगै नेपाली काँग्रेसमा फर्किएका थिए । एकतापछि उनीलाई नवलपरासी सुस्ता पश्चिमको उपसभापति बनाइएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसोसम्म १०७ जनाको कोरोनाका कारण ज्यान गएको पुष्टि गरेको थियो । सोमबार काठमाडौंमा १ सहित थप ३ जनाको निधन भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रौतहटका ३२ वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष र काठमाडौंमा ५८ वर्षिया महिलाको निधन भएको जानकारी दिएका थिए ।

मंगलबार विहानसम्म आउँदा गिरीसहित थप तीन जनाको कोरोना संक्रमणबाट निधन भइसकेको छ । सोमबार देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।

त्यसैगरी नेपालमा कोरोना जित्नेको संख्या १७ हजार ४९५ पुगेको छ । सोमबार थप १६० जनाले कोरोना जितेर घर फर्किएका थिए ।

प्रतिकृया दिनुहोस्