
काठमाडौँ । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । कोरोना सक्रमित अत्याधिक देखिए पछि काठमाडौँको कालीमाटी, कुलेश्वर र बल्खुका केही क्षेत्र सिल गरिएको छ ।
उक्त स्थानका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना सङ्क्रमण देखिएपछि काठमाडौँ महानगरपालिका–१४ ले कुलेश्वर र बल्खु क्षेत्रका पसल तथा केही क्षेत्रहरु सिल गरेको हो । हालसम्मको तथ्यांक अनुसार उपत्यकामा संक्रमितहरुको संख्या १५ सय नाघेको छ ।
लकडाउन खुले सँगै कालिमाटी तरकारी बजारमा र बल्खु तरकारी बजार क्षेत्रमा मानिसको घुइँचो बढेको थियो । लकडाउन हटेसँगै फलफूल तथा तरकारी बजारमा भारत र तराईबाट आउनेहरु बढेका कारण कोरोना सङ्क्रमण बढेको हुन सक्ने अनुमान छ ।
यसैबिच न्यूरोडका एक व्यापारीमा कोरोना संक्रमण देखिएपछि त्यस क्षेत्रका पनि पसल बन्द गरिएको छ ।
त्यस्तै वडा नं १४ मा खड्का गाउँ, कलंकी, बाफल, लामपाटी, रविभवन, गोदारगाउँ, मदननगर , बल्खु तरकारी बजार, त्रिवि परीक्षा नियन्त्रण कार्यालय, ट्याङलाफाँट, सरस्वती टोल लगायतका क्षेत्र पनि जोखिममा छन् ।
काठमाडौं महानगरपालिकाले न्यूरोडको विशालबजार देखि इन्द्रचोकसम्मको क्षेत्रमा पर्ने पसलहरु बन्द गर्न भनेको छ । सो क्षेत्रका पसलहरु आजबाट भदौ ७ गतेसम्मका लागि बन्द गर्न वडा कार्यालय आग्रह गरेको छ ।
अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटी र स्थानीय तहको समन्वयमा कोरोना जोखिम क्षेत्रको पहिचान गरी सिल गर्ने कार्य जारी छ ।
