News Portal

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय नाघ्यो, ७५ जनाको ज्यान गयो

डबली संवाददाता२०७७ साउन २६ गते
१८० पटक

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेको छ । समुदायमा पुगेको कोरोनाबाट आइतबार दिउँसोसम्म संक्रमितको संख्या २३ हजार नजिक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार कोरोनाबाट थप ३ सय ८० जना संक्रमित भएका छन् । योसँगै संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको हो ।

काठमाडौँ उपत्यकामा कोरोना समुदायमा पुगेको छ । राजनीतिक पार्टीका नेता र सरकारका उच्च अधिकारीका सुरक्षामा खटिएका सुरक्षाकर्मीमा पनि संक्रमित भएका छन् । सामुहिक रुपमा बस्ने प्रहरीमा कोरोना बढी संक्रमण भएको छ । आइतबार काठमाडौंमा ९० र ललितपुरमा २ गते उपत्यकाका ९२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

संक्रमितको तुलनामा निको हुनेको संख्या कम हुँदै गएको छ । आइतबार ४० जनाले मात्रै कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या १६ हजार ३ सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

देशका विभिन्न प्रयोगशालामा ८ हजार ५ सय १५ वटा पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, अहिले ११ हजार ३८ जना क्वारेन्टिनमा र ६ हजार ५ सय ४४ जना आइसोलेसनमा रहेका छन् । खोटाङ्ग, धनकुटा, संखुवासभा, मनाङ्ग, मुस्ताङ, डोल्पा र हुम्ला गरी सात जिल्ला कोरोनामुक्त भएका छन् ।

त्यसैगरी कोरोनाबाट थप दुई जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार कास्कीको पोखरा महानगरपालिकाका ६२ वर्षीय एक पुरूष र पर्सा वीरगञ्जकी २० वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको पुष्टि गरे । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।

यसैबीच ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप ३ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पतालमा पिसिआर जाँच गर्दा थप ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । संक्रमित तीनजना गण नम्बर–२ महाराजगञ्जको क्वारेन्टाइनमा थिए ।

तीनजना प्रहरीसँगै महाशाखामा कार्यरत कोरोना संक्रमित ट्राफिकको संख्या ९ पुगेको छ । तीमध्ये एकजना थापाथलीमा कार्यरत हुन् ।

उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी पाएको ट्राफिक महाशाखा सिल गरिएको छ । प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भीम प्रसाद ढकाल सहित ३०९ जना ट्राफिक प्रहरी क्वारेन्टाइनमा छन् ।

साउन १६ मा हवल्दार र जवानलाई कोरोना देखिएपछि कार्यालय सिल गरेर पिसिआर जाँच गरिँदै छ । शुक्रवार पिसिआर जाँचका लागि ३१ जनाको स्वाब संकलन गरिएको थियो । ट्राफिक प्रहरीमा संक्रमण कहाँबाट भयो भन्ने ‘स्रोत’ खुल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्